Kath khabar
हङकङलाई ८ विकेटले हराउँदै नेपाल प्रिमियर कपको सेमिफाइनलमा

                        काठमाडौं, वैशाख ३ । ओमानमा जारी एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा नेपालले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनलमा पुगेको छ । सोमबार अल अमेरत मैदानमा भएको खेलमा हङकङमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।

जितका लागि १ सय १५ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २ विकेट गुमाउँदै १३ औं ओभरमा लक्ष्य पूरा गर्यो । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले पराजित गरेको थियो।

प्रतियोगितामा ६ अङ्क बटुल्दै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा छ । यसअघि नेपालले पहिलो खेलमा मलेसियालाई पाँच विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो ।  

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४० रन बनाए । उनले १८ बलमा तीन छक्का र तीन चौका प्रहार गरे । त्यसैगरी कुशल भुर्तेलले १९ बलमा तीन चौका र दुई छक्काको मद्धतले ३२ रन जोडे । कप्तान रोहित पौडेलले २० बलमा तीन चौकाको मद्धतमा अविजित २५ रन जोडे भने सन्दीप जोराले १७ बलमा एक चौका र एक छक्काको सहयोगमा अविजित १९ रन बनाए ।

हङकङका इसान खान र यासिम मुरर्ताजले समान एक/एक विकेट लिए । हङकङका लागि अन्स्या रथले सर्वाधिक ३४ रनको योगदान दिए । उनले २६ बलमा चार चौका र एक छक्का प्रहार गरे ।

त्यस्तै,  जिसन अलिले १४ रन बनाउदा कप्तान निजकात खानले १२ रन बनाए । त्यस्तै इसान खानले ११ रन बनाउँदा त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङतर्फ नेपालका अभिनास बोहोराले तीन विकेट लिए भने ललित राजबंशी र  दीपेन्द्रसिह ऐरीले समान दुई/दुई विकेट लिए । त्यस्तै करण केसीले एक विकेट झारे । नेपालले समूह चरणको अन्तिम खेल यही वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update