Kath khabar
प्रधानमन्त्रीद्वारा नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’

 

                       काठमाडौं, वैशाख ३ । नेपाललाई  सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज सुरुङ छिचोल्नका लागि स्वीच थिच्नुभएको थियो । प्रधानमन्त्रीले स्वीच थिचेपछि  धादिङ र काठमाडौँ दुवैतर्फबाट खनिएको सुरुङ एकआपसमा छिचोलिएको हो । धादिङको सिस्नेखोला र काठमाडौँको चन्द्रागिरि नगरपालिका–१ मा रहेको टोटीपाखामा सुरुङ जोडिएको छ ।

समारोहमा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका उच्च अधिकारीको उपस्थिति थियो । यस्तै सङ्घीय सांसद एवं प्रदेश सांसदहरुको उपस्थिति थियो । नागढुङ्गाको घुमाउरो सडक र जामबाट आजित भएका नागरिकलाई उक्त सुरुङमार्ग निर्माण भएपछि थप सहज हुनेछ । आज छिचोलिएको सुरुङमार्गमा एक वर्षपछि नियमितरुपमा सवारी आवागमन हुने सम्बद्ध आयोजनाले जनाएको छ ।

नागढुङ्गा सुरुङ निर्माण परियोजनाका उपनिर्देशक गोविन्द दुमरका अनुसार एक विशेष समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरिएको हो । सो सुरुङमार्गको कूल लम्बाई दुई हजार छ सय ८८ मिटर छ । यसअघि नै आपतकालीनरुपमा प्रयोग गरिने सुरुङ भने गत साउनमा नै ब्रेक थ्रु गरिसकिएको छ । सुरुङभित्रको सडक ढलान, बत्ती जडान, अक्सिजन पाइप जडानलगायतका कामका लागि भने केही समय लाग्नेछ । आयोजनाको कूल लागत झण्डै रु २२ अर्ब बराबर छ । जापानी निर्माण कम्पनी हाज्मा एन्डो कर्पोरेशनले सो सुरुङमार्ग निर्माणको जिम्मा पाएको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सडक पूर्वाधारको निर्माण तथा बिस्तार गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिमा सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्ने बताउनुभएको छ । “सडक सञ्जालको माध्यमबाट अन्तरआबद्धता बिस्तार गरी आवागमनमा सहजता, यातायात लागतमा न्यूनता, भौगोलिक तथा जनसाङ्ख्यिक सन्निकटता र प्रादेशिक सन्तुलन कायम गर्नेगरी सडक पूर्वाधारको निर्माण तथा विस्तार गर्ने राष्ट्रिय लक्ष्यमा यस्ता सुरूङमार्ग निर्माणले ठूलो भूमिका खेल्नेछ”, प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

सुरूङ निर्माणपश्चात् सुरूङमार्गले उपत्यकाबाट बाहिरिने सडकको अवस्था सुधार गरी यात्राको समय र यातायात सञ्चालन खर्च घटाउने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले ट्राफिक र सडक सुरक्षामा सुधार गरी सङ्घीय राजधानी काठमाडौँ र देशका अन्य प्रमुख सहरबीचको सहज यातायात सञ्जालमा योगदान पुर्‍याउने बताउनुभयो ।

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update