Kath khabar
सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदै
File Photo

 

                       काठमाडौं, वैशाख ४ । वर्षा र सहकालका देवताका रूपमा पुजिने सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुँदैछ । दरबारमार्गमा रहेको तीनधारा पाठशालाबाट शुरु हुने यो यात्रा लगनटोलमा गएर टुङ्गिन्छ ।

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन अपराह्न केलटोलमा रहेको जनबहालबाट सेतो मच्छिन्द्रनाथलाई विधिपूर्वक पूजा गरी खटमा राखेर विभिन्न बाजागाजाका साथ तीनधारा पाठशालानिर अग्लो रथ बनाइएको स्थानमा पुर्‍याइन्छ । त्यहाँबाट सेतो मच्छिन्द्रनाथलाई विधि पुर्‍याएर खटबाट निकालेर ३२ हात अग्लो रथमा राखी तानेर रथयात्रा सुरु गरिन्छ ।

आज पहिलो दिन घण्टाघर रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म पुर्‍याइन्छ । दोस्रो दिन असनबाट हनुमानढोका, तेस्रो दिन लगनटोल पुर्‍याइन्छ ।  अन्तिम दिन लगनटोलस्थित मच्छिन्द्रनाथकी आमालाई तीनपटक परिक्रमा गराएपछि रथयात्रा सम्पन्न हुन्छ । सेतो मछिन्द्रनाथको दर्शन गरे सुख, सुस्वास्थ्य र दीर्घायु प्राप्त हुने विश्वास छ । हरेक वर्ष यो जात्रा गरेपछि वर्षा र सहकाल शुरु हुने धार्मिक विश्वास छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update