Kath khabar
गुणस्तरहीन चाउचाउ भेटिएपछि महानगरले चौधरी ग्रुपलाई तिरायो २ लाख रुपैयाँ जरिवाना

                     काठमाडौं, वैशाख १४ । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना तिराएको छ । कम गुणस्तरका चाउचाउ भेटिएपछि कृषि तथा पशुपन्छी विभागले जरिवाना गराएको हो ।

बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा ९१० को खण्ड ‘ख’ बमोजिम जरिवाना गरेको हो । वैशाख १२ गते तोकिएको जरिवाना कम्पनीले ७ दिनभित्र बुझाउनु पर्नेछ ।   

महानगरपालिकाको वडा नं. ६, सरस्वती नगरको किराना पसलबाट वैशाख २ गते चाउचाउ जफत गरियो । २०८० सालको चैत महिनामा उत्पादित ६० ग्राम तौल भएका, अधिकतम विक्री मूल्य २० रुपैयाँ पर्ने  व्याच नं. AL/YL23 का चाउचाउ जफत गरेपछि, १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइयो । यसरी पठाइएको नमूनामा कम्पनी र उत्पादनको विवरण गोप्य राखिएको थियो । ७ गते प्रयोगशालामा दिइएको नमूनाको रिपोर्ट ११ गते प्राप्त भएको हो ।

नमूनाको प्रयोगशाला परीक्षणबाट आएको प्रतिवेदनले गुणस्तरको विवरण लेख्दै भनेको छ, खैरो रङ्गको चाउचाउमा गाढा खैरो र काला धब्बा थिए ।  रिपोर्टअनुसार चाउचाउमा एसिड भ्यालु १३.९३४ mg KOH/g Oil देखिएको छ । यसको भ्यालु १ mg KOH/g Oil भन्दा बढी हुनु हुँदैन ।

चाउचाउको बिक्रीसँग सम्बन्धित एसके इन्टरप्राइजेजले यस व्याच नम्बरबाट बजारमा वितरण भएका चाउचाउ फिर्ता ल्याउने र अब उप्रान्त यो चाउचाउ विक्री नगर्ने महानगरपालिकालाई पत्र लेख्दै  प्रतिवद्धता पत्र पठाएको छ । यस्ता गुणस्तर नभएका खाद्य बस्तुको जिम्मेवारी उत्पादक कम्पनी सी जी फुड नेपाल हुने पत्रमा उल्लेख छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update