Kath khabar
लगानी सम्मेलनको दोस्रो दिन, विभिन्न विषयका फरकफरक सत्र सञ्चालन हुँदै


                काठमाडौं, वैशाख १७ । आइतबारदेखि यहाँ जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन हुने भएका छन् ।

बिहानदेखि फरकफरक चारवटा सभाहलमा समानान्तररुपमा चार वटा सत्र सञ्चालन भइरहेका छन् । सबै सत्रमा स्वदेशी तथा विदेशी विज्ञ तथा सरकारी प्रतिनिधिले आफ्नो धारणा गरिरहनुभएको छ ।

अहिले ‘नेपालको नवीकरणीय ऊर्जा सम्भाव्यता’, नवीन वित्तीय परिदृश्य, नेपालको व्यापारमा हरित र जलवायु  उत्थानशीलता र लगानीका अवसरहरू, राम्रो पूर्वाधार र यातायात निर्माणसम्बन्धी’ विषयक सत्र सञ्चालन भइरहेका छन् ।

यसपछिको सत्रमा दिगो लगानीका लागि हरित वित्तको उपयोग, पर्यटन क्षेत्रमा लगानी,  निर्यात वृद्धिका लागि नेपालको कृषि प्रशोधनको सम्भावनाका विषयमा छलफल सत्र सञ्चालन हुने छ । यसैगरी अन्तिम विभिन्न चार विषयका समानान्तर सत्र सञ्चालन हुनेछन् । त्यसमा उत्पादनमा नवप्रवद्र्धन र वृद्धि, नेपालको स्टार्टअप वातावरण र व्यापार सहज, जीवन्त लगानीका लागि उत्कृष्ट मञ्च विषयमा छलफल हुनेछ । एग्रिफुड प्रणाली परिवर्तनमा लगानी र उचित बजारीकरणका सम्बन्धमा साइड इभेन्ट सञ्चालन हुनेछ । सबै सत्रका छलफलपछि आज साँझ सम्मेलनको समापन समारोह हुने लगानी बोर्डको सचिवालयले जानकारी दिएको छ ।

चिनियाँ कम्पनीबाट भित्र्याउन सहजीकरणका लागि समझदारी
काठमाडौँ, १७ वैशाख: चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण गर्नेसम्बन्धी दुई वटा समझदारी भएको छ ।

तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज नेपालको ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’बीच तथा नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबीच छुट्टाछुट्टै समझदारी भएको हो ।
     
नेक्सजेनले एमएबिसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्नेछ भने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्नेछ । यी दुई समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठ पनि सहभागी हुनुहुन्थ्यो ।
 

 

प्रकाशित मिति: सोमबार, वैशाख १७, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update