Kath khabar
नेपाली हात्ती कतार पठाउन केके हुँदैछ प्रक्रिया ?


                      काठमाडौं, वैशाख २१ । नेपाल सरकारले कतारलाई उपहार स्वरूप दिने घोषणा गरेको दुईवटा हात्ती त्यसतर्फ पठाउन आवश्यक तयारी भइरहेको अधिकारीहरूले बताएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल भ्रमणमा आउँदा हात्ती उपहार दिने निर्णय सरकारले गरेको थियो। नेपालले चितवनमै जन्मिएर हुर्केका खगेन्द्रप्रसाद र रुद्रकली नाम गरेका दुई हात्ती कतार पठाउन लागेको हो।

साढे चार वर्षीय खगेन्द्रप्रसाद कोशीकलीको छावा हो भने साढे पाँच वर्षीया रुद्रकली पुजाकलीकी छावा हो। दुवै चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरमा तालिम दिइएका हात्ती हुन्। अधिकारीहरूका अनुसार नेपालमा वन्यजन्तु संरक्षण गर्न थालिएयता विभिन्न देशलाई अरू जनावर उपहार दिइए पनि हात्ती दिन लागिएको यो पहिलो पटक हो।

कतार पठाउन लागिएका दुवै हात्तीको स्वास्थ्य अवस्था राम्रो रहेको र दुवैले अनुशासनपूर्वक आदेश पालन गर्ने गरेको माहुते जदु सिंहले बताए। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागबाट विज्ञ टोली कतार पुगेर हात्तीलाई राख्ने स्थान एवं त्यहाँको वातावरणबारे अध्ययन गरी फर्किसकेको वार्डेन दिलबहादुर पुर्जा पुनले बताए। विभागका वरिष्ठ इकोलजिस्ट मनोज शाह, चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ पशु चिकित्सक विजयकुमार श्रेष्ठ र हात्ती विज्ञ अशोक राम लगायतको टोली कतारमा एक साता अध्ययन गरी फर्केको हो।

कतारमा आफूहरूले हात्तीको वासस्थान एवं वातावरणको निरीक्षण गरेको विज्ञ टोलीमा संलग्न चिकित्सक विजयकुमार श्रेष्ठले बताए। “हात्तीका लागि वासस्थान उपयुक्त रहेको हाम्रो निष्कर्ष रह्यो,” श्रेष्ठले भने। नेपालबाट लगिने दुई हात्तीको स्वास्थ्य अवस्था, तिनका आनीबानी एवं यहाँको वातावरणबारे बुझ्न कतारबाट एउटा प्राविधिक टोली आएर फर्केको हात्ती प्रजनन केन्द्रका शाखा अधिकृत मनपुरण चौधरीले बताए।

प्रजनन केन्द्रमै बसेर हात्तीका बारेमा आवश्यक सबै जानकारी लिएर टोली फर्केको उनले जनाए। कतार एअरवेजको कार्गो टोलीले हालै सौरहाको खोरसोर र चितवन राष्ट्रिय निकुञ्जमा रहेका दुई हात्तीको लम्बाइ तथा चौडाइका साथै तौल समेत लिएर फर्केको छ। हात्तीको आकार र तौलबारे बुझेपछि तिनलाई लैजान सकिने भनी टोली फर्किएको शाखा अधिकृत चौधरीले बताए।

निकुञ्जका अनुसार कतार पठाउन तयारी अवस्थामा राखिएको खगेन्द्रप्रसादको तौल १,१९० किलो र रुद्रकलीको वजन १,२०० किलो रहेको छ। दुवै हात्तीलाई खोरमा राखेर काठमाण्डूसम्म ट्रकमा र त्यहाँबाट कार्गो जहाजमा लगिने बताइएको छ। यद्यपि हात्ती कतार पठाइने यकिन मिति तय हुन बाँकी रहेको निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए। दुइटै हात्ती पठाउनका लागि आवश्यक पूर्वतयारी भने भइसकेको उनले जानकारी दिए।

कहाँ कति वन्यजन्तु उपहार
नेपालले जनावर उपहार दिएको यो पहिलो पटक होइन। नेपालले हालसम्म विभिन्न देशमा दुर्लभ एकसिङ्गे गैँडा, घडियाल गोहीलगायत वन्यजन्तु उपहार दिएको छ। नेपालले सन् १९८५ देखि २०१८ सम्म २६ वटा दुर्लभ एकसिङ्गे गैँडा र १९९० देखि २००४ सम्म १० घडियाल गोही विभिन्न देशलाई उपहार दिएको तथ्याङ्क छ।

सन् १९८५ मा भारतलाई चारवटा गैँडा, सन् १९८७ मा अमेरिकालाई चारवटा, सन् १९९० मा जर्मनीलाई एउटा उपहार स्वरूप नेपालले दिएको छ। सन् १९९३ मा बाङ्गलादेशलाई दुइटा, १९९३ मा जर्मनीलाई एउटा, सन् १९९८ मा यूकेलाई एउटा, सन् २००० मा जापानलाई दुइटा, सन् २०१८ मा अस्ट्रियालाई दुइटा र सन् २०१८ मा चीनलाई दुइटा गैँडा नेपालले दिएको छ।

नेपालबाट सन् १९९० मा जर्मनीलाई दुइटा घडियाल गोही, सन् २००० मा फ्रान्सलाई छवटा र सन् २००४ मा भुटानलाई दुइटा पठाइएको तथ्याङ्क छ। दुई हात्तीका लागि फनित माहुते र पछुवा गरी छजना कर्मचारी पनि हात्तीसँगै पठाउने तयारी निकुञ्जले गरेको छ। बच्चादेखि पालनपोषण गरेको हात्ती कतार पठाउन लागिएकोमा नरमाइलो लागेको पछुवा रामदत्त चौधरीले बीबीसीलाई बताए।

नेपालमा निजी घरपालुवा हात्ती ७२ छन् भने चितवन राष्ट्रिय निकुञ्जमा ५४ वटा हात्ती रहेका छन्। जङ्गली हात्ती ६० देखि ६५ वटा रहेको अनुमान छ। कतारमा अति गर्मी हुने भएकोले नेपालबाट लगिने हात्तीलाई वातानुकूलित खोरमा राखिने बताइएको छ। “नेपालमा जुन वातावरणमा ती हात्तीको पालनपोषण गरिएको छ सोहीअनुसार वातावरण मिलाउन र मौसम अनुसारका घाँस हात्तीलाई उपलब्ध गराउन हामीले सुझाएका छौँ,” बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन तथा हात्ती विज्ञ अशोक रामले बीबीसीसँग भने।

“हात्तीको स्याहारसुसारका लागि प्रतिहात्ती फनित माहुते र पछुवा तीन जनाको व्यवस्था गर्न अनि हात्ती राख्ने स्थान ठूलो बनाउन पनि सुझाव दिएका छौँ।” कतार पठाउन लागिएका हात्ती वन्यजन्तुको ओसारपसारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धि साईटीसको अनुसूची २ मा सूचीकृत घरपालुवा हात्ती हुन्। एक देशबाट अर्को देशमा लैजानु परेमा लिने र दिने दुवै देशले साईटीसका प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान रहेको अधिकारीहरू बताउँछन्।

कतारले हात्ती लैजाने निश्चित भइसके पनि दुवै देशबीच सहमतिपत्रमा हस्ताक्षर हुन बाँकी रहेको र साईटीसका प्रक्रिया पूरा गर्ने क्रममा रहेको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले बताए। (स्रोत : बीबीसी नेपाली)

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update