काठमाडौं, असार २० । स्वास्थ्य बीमा बोर्डले अबदेखि बीमितलाई देशभरका जुनसुकै नजिकका अनुमति प्राप्त सरकारी स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने सुविधा उपलब्ध गराउने भएको छ ।
साउन १ गतेदेखि लागू हुने गरी बोर्डले बीमितलाई सेवा सहज बनाउन प्रथम सेवा विन्दु सम्बन्धी व्यवस्था परिमार्जन गरेको हो । अबदेखि बीमितहरूले बीमा दर्ताका बेला चयन गरेको एक मात्र सेवा विन्दुमा सीमित नहुने र नेपालभित्र जुनसुकै स्वास्थ्य बीमाको प्रथम सेवा बिन्दु तोकिएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सक्नेछन् ।
यसअगाडि बीमितले बीमा गर्दा छनोट गरेको एक मात्र प्रथम सेवा विन्दुमा नै गई सेवा लिनुपर्ने व्यवस्था थियो । यसले गर्दा देशका विभिन्न स्थानमा पुगेका बीमितहरूलाई आकस्मिक अवस्थाका बेला रेफरल प्रक्रिया झन्झटिलो बनाएको थियो।