Kath Khabar
स्वास्थ्य बीमा नवीकरणमा नयाँ कार्यविधि : समयमै गरे छुट, ढिला गरे जरिवाना

                                काठमाडौं, साउन ९ । स्वास्थ्य बीमा बोर्डले बीमालेख नवीकरणलाई थप व्यवस्थित बनाउन नयाँ कार्यविधि लागू गरेको छ ।  ‘स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध नागरिकको बीमालेख नवीकरण गर्ने सम्बन्धी कार्यविधि, २०८२’ अनुसार अबदेखि नियमित रूपमा बीमा नवीकरण गर्ने सदस्यले छुट पाउनेछन् भने ढिलाइ गर्नेले जरिवाना तिर्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

स्वास्थ्य बीमा बोर्डका अनुसार बीमा नवीकरणको म्याद सकिएको ३ महिनाभित्र योगदान रकममा १० प्रतिशत थप शुल्क लाग्नेछ । म्याद सकिएको ६ महिनाभित्र ३० प्रतिशत, एक वर्षभित्र ५० प्रतिशत, १ वर्षपछि  शतप्रतिशत रकम लाग्ने कार्यविधिमा उल्लेख छ । यस्तै, ३ वर्षभन्दा बढी ढिला भएमा योगदान रकमको चार गुणासम्म जरिवाना लाग्नेछ ।

यसअनुसार, ३ महिनाभित्र नवीकरण गरेमा नियमित प्रिमियम (३,५००) सँगै अतिरिक्त ३५० रुपैयाँ लाग्नेछ । ६ महिनाभित्र ४,५५०, ६ महिनादेखि १ वर्षभित्र ५,२५०, १ वर्षपछि नवीकरण गरेमा ७,००० रुपैयाँ लाग्नेछ भने २ वर्षपछि नवीकरण गरेमा १०,५०० रुपैयाँ, ३ वर्षसम्म नवीकरण गरेमा १४,००० र ३ वर्षभन्दा पछि नवीकरण गरेमा १७,५०० रुपैयाँ लाग्नेछ ।

हाल सरकारले ५ जनाको परिवारका लागि वार्षिक ३,५०० रुपैयाँ प्रिमियम निर्धारण गरेको छ, जसबाट एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा प्राप्त गर्न सकिन्छ । यो नवीकरणसम्बन्धी कार्यविधि बोर्ड बैठकबाट असार २४ गते स्वीकृत भइसकेको छ।

सदस्यहरूले दर्ता सहयोगीमार्फत वा विद्युतीय प्रणालीबाट म्याद सकिनु एक महिना अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने हुन्छ । समयमै आफ्नो स्वास्थ्य बीमा नवीकरण गरेर अनावश्यक आर्थिक भारबाट बच्न तथा स्वास्थ्य सेवाको लाभ निरन्तर प्राप्त गर्न सबै सेवाग्राहीलाई बोर्डले आग्रह गरेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १६:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update