Kath khabar
खेलकुदका क्षेत्रमा पूर्वाधार विकास गर्न बजेट पुगेन : मन्त्री विराजभक्त श्रेष्ठ


                     काठमाडौं, वैशाख २७ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले खेलकुदका क्षेत्रमा पूर्वाधार विकास र खेलाडीहरुलाई प्रोत्साहनका लागि पर्याप्त बजेट नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा मन्त्री श्रेष्ठले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाका रुपमा विकासका लागि बजेट अभाव रहेको बताउनुभयो ।

उहाँले मुलपानी, विराटनगरस्थित गिरिजाप्रसाद कोइराला, बैतडीको दशरथ चन्द, कैलालीको फाप्ला र काठमाडौँको सुवर्णशमशेर क्रिकेट रंगशाला निर्माणका लागि कार्यक्रम रहे पनि पर्याप्त बजेट नहुँदा गति सुस्त भएको स्वीकार्नुभयो ।

उहाँले १९औँ एसियाली खेलकुद प्रगियोगिताका लागि दुई सय ५३ खेलाडीहरुको स्वदेश र विदेशमा प्रशिक्षण सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले खेलसम्बन्धी कानुन र राष्ट्रिय युवा नीति संशोधनका लागि गृहकार्य भइरहेको बताउनुभयो ।

बैठकमा सांसदहरुले खेल पूर्वाधारहरु एकै पटक धेरैतिर निर्माण गर्न सम्भव नभए छनोटका आधारमा उपयोगी र कम खर्चका संरचना बनाउन, खेल प्रतिभाको खोजी र संरक्षण गर्न, विदेशमा हुने प्रतियोगीतामा खेलाडीभन्दा अन्य व्यक्तिको भीड नपठाउन, खेल क्षेत्रलाई अनुशासित र भ्रष्टाचाररहित तुल्याउन आग्रह गर्नुभएको थियो ।

 त्यस अवसरमा राष्ट्रिय खेलकुद् परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले दशरथ रंगशालाको मूल ढोका निर्माण गर्न लागिएको, कीर्तिपुरस्थित क्रिकेट खेल मैदानमा ‘फ्लड लाइट’ जडानको प्रक्रिया सुरु भएको बताउनुभयो ।
 

 

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update