Kath Khabar
आज निर्जला एकादशी, घर घरमा तुलसीको दल राखिँदै

                   काठमाडौं, जेठ २४ । आज जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी । तुलसीको दल (बिउ) राख्ने दिन । वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा तुलसीको दल राख्दैछन् ।

यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन छरिएको बिउ एक महिनापछि आषाढ शुक्ल एकादशीका दिन अर्थात हरिशयनी एकादशीका दिन तुलसीको मठमा  रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ । चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

वैष्णव परम्परामा यो दिन निर्जल (पानीसमेत नपिई) व्रत बस्ने परम्परा छ । दिनभर व्रत बसी भगवान् विष्णुको पूजाआराधना गर्ने र माहत्म्य वाचन श्रवण गरिन्छ। एकादशी भगवान् विष्णुसँग सम्बन्धित पर्व हो । एकादशीका दिन विशेषगरी भगवान् विष्णुको पूजा आराधना गर्ने र माहत्म्य पाठ गर्नेजस्ता कर्म गरिन्छ । आयुर्वेदिकरूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले प्रमाणित गरेको छ ।

प्रकाशित मिति: शनिबार, जेठ २४, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update