
काठमाडौं, असार २२ । आज हरिशयनी एकादशी । आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीर सागरमा शयन गर्ने धार्मिक विश्वासमा आज हरिशयनी एकादशी पर्व व्रत, पूजा, पाठ गरी मनाइँदैछ ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन घरघरमा राखिएको तुलसीको दलको बिरुवा आज मोठमा सारिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । हरिशयनी एकादशीसँगै आजदेखि चतुर्मास व्रत पनि शुरु भएको छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रुपमा मानिन्छ ।
जेष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशीका दिन घर घरमा राखिएको तुलसीको दलबाट आजै विरुवा रोपी चार महिनासम्म विधिपूर्वक पूजा पनि सुरु गरिन्छ । कात्र्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म भगवान् विष्णु शयन गर्नुहुने भएकाले त्यसदिनसम्म विधिपूर्वक तुलसीको पूजा आराधना गरिन्छ ।
वैज्ञानिक रुपमा बढी अक्सिजन दिने भनी प्रमाणित भएको तुलसीलाई आयुर्वेदिक औषधिका रुपमा समेत उपयोग गरिन्छ । वैदिक कालदेखि नै पीपल, कुश, तुलसी र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकस्वरुप पवित्र मानिन्छ ।
आज बिहानदेखि नै काठमाडौँको बूढानीलकण्ठस्थित नारायणस्थान, उपत्यकाका चार नारायण मन्दिरलगायत मुलुकभर रहेका विष्णु मन्दिरमा पनि पूजाआजा तथा धार्मिक अनुष्ठानका लागि भक्तजनको भीड लाग्छ ।