Kath Khabar
आज गुरु पूर्णिमा, गुरूप्रति श्रद्धाभाव प्रकट गरी मनाइँदै

गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वर : ।
गुरु: साक्षात् पर ब्रह्म तस्मै श्री गुरवे नम : ।।

      काठमाडौं, असार २६ । आषाढ शुक्ल पूर्णिमाका दिन आज गुरु पूर्णिमा पर्व मनाईंदैछ । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले श्रद्धाभाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । गुरुलाई आमा–बुवा सरह सम्मान गर्ने प्रचलन छ ।

अन्धकारको नाश गरी जीवनमा उज्यालो फैल्याउने व्यक्तित्वलाई नै गुरु भनिन्छ । यस्ता गुरुलाई हाम्रो शास्त्रले ब्रह्मा, विष्णु र महेश्वरका रुपसमेतमा मानेको छ । यसैले विभिन्न ग्रन्थमा यसो भनिएको पाइन्छ ।

वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद्लगायतका धार्मिकग्रन्थ लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ ।

माता पिताजस्तै गुरुलाई पनि देवता समान मानी ‘आचार्यदेवो भव’ भनिन्छ । गुरु पूर्णिमाका अवसरमा यस दिन विभिन्न विद्यालय एवं सङ्घसंस्थाले कार्यक्रम गरी शिक्षा, दीक्षा दिने गुरुप्रति श्रद्धाभाव प्रकट गर्ने गरेका छन् ।

व्यास जयन्ती
आजै वेदलाई ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद गरी चार भागमा विभाजन गरी यसको अर्थ बुझाउन सरल संस्कृत भाषामा १८ पुराण र १८ उपपुराणको रचना गर्नुहुने वेदव्यासको सम्झनामा व्यास जयन्ती पनि मनाइन्छ । आषाढ शुक्ल पूर्णिमाकै दिन वेद व्यास जन्मिएकाले यसै दिन व्यास जयन्ती मनाउने गरिएको हो ।

व्यासले पुराण र उपपुराणका माध्यमबाट यस्तो सन्देश दिन खोज्नुभएको छ–
‘अष्टादश पुराणेषु व्यासस्य वचन द्वयम् ।
परोपकार पुण्याय, पापाय परपीडनम्’ ।।

अर्थात् अरूको उपकार गरे धर्म हुन्छ एवं अरूलाई पीडा दिए पाप लाग्छ भनी मानवतावादी सन्देश दिनुभएको छ । पाँचौँ वेदसमेत भनिने महाभारत पनि व्यासले नै रचना गर्नुभएको हो ।

प्रकाशित मिति: बिहीबार, असार २६, २०८२  ०८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update