Kath Khabar
काठमाडौं महानगरको बजेट आइतबार आउने, आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब बजेटको सीमा निर्धारण

                       काठमाडौं, असार २७ । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको वैठकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट सीमा निर्धारण गरेको हो । 

शुक्रबार बसेको कार्यपालिकाको बैठकले असार २९ गते बजेट ल्याउने निर्णय गरेको छ । बैठकले आगामी आर्थिक वर्षका लागि करिब २५ अर्ब ११ करोड  बजेटको सीमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दैछ । बैठकमा प्रमुख शाहले जनचाहना अनुरूप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिनु भएको थियो । चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ ।  

आगामी आर्थिक वर्षको बजेटमा आर्थिक विकास क्षेत्रतर्फ ३ प्रतिशत, कार्यालय सञ्चालन तथा प्रशासनिक १४ प्रतिशत, पूर्वाधार विकासतर्फ ५१ प्रतिशत, सामाजिक विकासतर्फ २० प्रतिशत र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ १२ प्रतिशत बजेटको सीमा तोकिएको छ। 

यस्तै शुक्रवार नै उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा  बसेको राजश्व परामर्श समितिको बैठकले  आर्थिक वर्ष २०८१/८२ मा प्रक्षेपण गरिएको कुल राजश्व मध्ये चालु आर्थिक वर्ष ८१/८२ मा असार २६ गते सम्म सङ्कलन भएको राजश्वको असुलीको समीक्षा गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल आम्दानी प्रक्षेपण गरेको थियो । 

शुक्रवार बस्ने ४० औं नगर कार्यपालिका बैठकले नगर सभाको मिति तय गरी नगर सभा मार्फत  बजेट सार्वजनिक गर्नेछ ।  नगर सभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नेछिन् । 

 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update