
काठमाडौं, साउन १ । आज श्रावण महिनाको १ गते । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ । धार्मिक दृष्टिले महिना पवित्र महिना मानिन्छ ।
ज्योतिषशास्त्रानुसार सौर्य तिथिको हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गरी दक्षिणायण हुने हुनाले यसलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । यो दिनदेखि सूर्य उत्तरी गोलाद्र्धबाट दक्षिणी गोलाद्र्धतर्फ प्रवेश गर्ने भएकोले दिन छोटो र रातलामो हुँदै जाने विश्वास गरिन्छ ।
साउन महिनाले नेपाली खास गरी हिन्दू धर्मसँग सम्बन्धित परम्पराका चाडहरूलाई भित्र्याउने भनाइ छ । नेपालभर स्नान, दान, होम, श्राद्धजस्ता विशेषकार्यको सुरुवात यही दिनदेखि गरिन्छ । हिन्दू धर्मअनुसार सूर्य दक्षिणायन हुँदा देवताका रात र पितृको दिन हुने भएकोले हिन्दूधर्मावलम्बीले साउन महिनादेखि पितृकार्यको थालनी गर्ने प्रचलन छ ।
साउने संक्रान्तिको दिन असारे वर्षात, हिलोबाट लाग्न सक्ने रोगबाट जोगिन लुतो फाल्ने प्रचलन छ । फलफूल, नैवेद्य चढाएर कण्डारक नामक राक्षसको पूजा गर्नाले दाद, लुतो, खटिरा जस्ता छालाजन्य रोगबाट बच्न सकिने विश्वासका रहिआएको छ । लुतो भनेको हाम्रो शरीरमा ज्यादै चिलाउने र बाक्ला बिबिरा उठेर पाक्ने खटिराविशेष रोग हो । साँझ झमक्क परेपछि कण्डारक राक्षसको विशेष रूपले पूजाआजा गरी फलफूलसहित अँगेनामा कुरिलो र तीतेपातीका डाँठहरू सल्काएर बलिरहेको यसैको एउटा अगुल्टो झिकेर नाङ्लो ठटाउँदै अगुल्टोलाई पूर्व, पश्चिम, उत्तर र दक्षिण चारै दिशा घुमाउँदै ‘लुतो लैजा’ ‘मेरो खटिरा पटिरा लैजा’ भन्दै हुरूहुरू चारैतिर फ्याँकेर सेलाइन्छ ।
विवाहित महिलाहरू साउने संक्रान्तिदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र वस्त्र पहिरिने र साउन महिनाभर प्रत्येक सोमबार व्रत बसी शिवको पूजा आराधना गर्दछन् ।