
काठमाडौं, साउन १५ । आज साउन १५ । नेपाली समाजमा परम्परादेखि नै साउन १५ मा खिर खानुपर्छ भन्ने सामाजिक मान्यता छ । असार १५ मा दहीचिउरा खानू, साउनको १५ खीर, यो भनाइ नेपाली समाजमा परम्परागतरुपमा लोकप्रिय रहेको छ ।
हुरेक साल साउन १५ गतेका दिन खिर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । घरघरमा खीर र मिष्ठान्न भोजन खाएर यो पर्व मनाइँदैछ । वर्ष दिनभरिमा कहिले जौ को सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । दूधमा मर–मसलालगायत चिजबिज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ ।
हुन त साउन महिनाभर खीर खानु राम्रो हुने विश्वास पश्चिम नेपालमा रहेको छ । नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको संस्कृतिक मान्यता छ । साउन महिना वर्षात् समय भएकाले पनि विभिन्न रोगहरुबाट छुटकारा पाउनका लागि पनि दुधबाट बनेको पोषिलो खीर खाने गरिन्छ ।
खीरमा रोग प्रतिरोधात्मक क्षमता हुने भएकोले पनि यो खाने प्रचलन बसेको बुझ्न सकिन्छ । बर्षा समयमा विभिन्न संक्रमण रोग लाग्ने गर्दछ, संक्रमणबाट बँच्न खीर खाने गरेको पाइन्छ ।