Kath Khabar
आज जनै पूर्णिमा तथा रक्षाबन्धन पर्व मनाइदै

                        काठमाडौं, साउन २४ । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी । आज देशभर जनै पूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन नयाँ जनै फेरेर र रक्षाबन्धन (डोरो) बाँधेर यो पर्व मनाइन्छ ।

वैदिक सनातन धर्मावलम्बीहरुले आजको दिन नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

यसैगरी, आजकै दिन नेपालको तराई मधेस क्षेत्रमा दिदीबहिनीले दाजुभाइलाई राखी बाँध्ने प्रचलन रहिआएको छ । यसबाट दिदीबहिनी र दाजुभाइबीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ ।

आजको दिन विभिन्न गेडागुडी भिजाएर टुसा उमारेर बनाइएको क्वाटी खाने चलन पनि रहेको छ । क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक मान्यता छ । आज काठमाडौंको मणिचूड, ललितपुरको कुम्भेश्वर लगायत क्षेत्रमा बिहानैदेखि मेला  लाग्ने गर्छ ।

 

प्रकाशित मिति: शनिबार, साउन २४, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update