काठमाडौं, भदौ ७ । आज कुशे औशी, बाबुको मुख हेर्ने दिन । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् ।
आज औंशी, आजको दिनमा कुशलाई घरमा ल्याइन्छ । आजका दिन उखेलिएको कुश वर्षभर हुने देवकार्य एवं पितृकार्यमा प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।
वैदिक सनातन हिन्दू संस्कारमा कुश एउटा अत्यन्त महत्वपूर्ण सांस्कृतिक र धार्मीक भूमिका भएको पवित्र वनस्पती हो जसको वैज्ञानिक महत्व पनि प्रमाणीत भइसकेको छ । वैज्ञानिक भाषामा Desmostachya bipinnata भनिने कुश एउटा धार्मिक आस्था बोकेको धारीलो घाँस हो ।
नेपालको तराईदेखि पहाडसम्म सजिलै पाइने वनस्पती कुशको जराबाट बिभिन्न प्रकारका औषधीहरु पनि बनाइन्छ । कुश वैदिक सनातन संस्कारको देवकर्म र पितृकर्म दुबैमा अनिवार्य वनस्पती पनि हो । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमासमेत वर्णन गरिएको छ ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुबालाई श्रद्धापूर्वक रुचिअनुसारको मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन् । बुबा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्ने धर्मग्रन्थमा उल्लेख छ ।
आजको दिन विशेषगरी काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ। यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गर्दछ ।


 
                                                 
                                                 
                                                 
                     
                     
                    