Kath Khabar
आज हरितालिका तीज, हिन्दु नारीहरुले महादेवको पूजा–आराधना तथा व्रत गरी मनाइँदै

                काठमाडौं, भदौ १० । भाद्र शुक्ल तृतीया अर्थात् सनातन धर्मावलम्बी महिलाहरूको महान् पर्व तिज। उमामहेश्वरको व्रत तथा पूजा–आराधना गरी मनाइँदैछ। 

हिन्दू नारीहरू यो दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्छन्। हिमालय पर्वत र मेनाकी पुत्री पार्वतीले भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी कठिन तपस्या गरेको र त्यसैको प्रभावस्वरूप महादेव पति पाएको पौराणिक कथन छ। यसरी व्रत बस्दा मनोकांक्षा सिद्ध हुने विश्वासमा महिलाहरू तिजको व्रत बस्छन्।

विवाहिताहरूले आफ्ना पति छोराछोरीको सुस्वास्थ्यको कामना गर्ने र अविवाहिताहरूले असल पतिको कामनामा व्रत बस्ने भन्ने लौकिक चलन पनि छ। महिलाहरू आफ्नो पायक पर्ने शिवालयमा पुगी शिवपार्वतीको पूजा गर्छन्। सक्नेले दिनभर पानीसमेत नखाई व्रत बस्ने साँझ पौराणिक विधिले उमामहेश्वरको पूजा गर्ने, कथा सुन्ने गर्छन्।

भोलिपल्ट सबेरै लोापामुद्रालाई अर्घ्य दिएपछि तिजको व्रत पूर्ण भएको मानिन्छ। सामाजिक रूपमा पनि तिजको ठूलो महत्त्व छ। तिजका लागि माइतीले चेलिबेटीलाई निम्तो गर्ने, सम्भव भएसम्म सबै दिदीबहिनीहरू एकै थलोमा जम्मा हुने, अघिल्लो दिन बेलुकी मिठामसिनो (दर) खाने गर्छन्। तिजका दिन नाचगान गरी घरव्यवहारमा पाएका दुःखकष्टलाई गीतमा उतार्ने गर्छन्। तिजमा गाइने विभिन्न ठाउँका भाका लोकसाहित्यका सम्पत्ति मानिने गरेका छन्।

सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएको धार्मिक मान्यताका आधारमा बैदिक सनातन धर्ममा हरितालिका तिजको परम्परा रहीआएको हो ।

आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । हरितालिका तीजका सन्दर्भमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने मान्यता नरहेको धर्मशास्त्रमा उल्लेख भएको धर्मशास्त्रीहरु बताउछन् । निराहार, जलाहार र फलाहार गरी व्रतका तीन किसिम रहेको बताइन्छ ।

आज देशका शिवालयहरुमा महिला दर्शनार्थीहरुको उल्लेख्य उपस्थिति रहेको छ । विशेश गरि पशुपति मन्दिरमा आज बिहानैदेखि भक्तजनहरुको भिड लागिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १०, २०८२  ०७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update