काठमाडौं, कात्तिक ९ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा आज नेपालले अमेरिकासँग भिड्दै छ ।
दुबईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा खेल जारी छ । एकदिवसीय श्रृंखलाअन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।
त्रिकोणात्मक श्रृंखलामा नेपाल, अमेरिका र युएई छन् । जारी लिगमा नेपाल चार श्रृंखलामा १६ खेल खेलेर १२ अंकका साथ सातौं स्थानमा छ । अमेरिका २० खेलमा २८ अंकका साथ दोस्रो स्थानमा छ ।
लिग–२ मा सहभागी आठ राष्ट्रले कुल नौ श्रृंखलामा जम्मा ३६ खेल खेल्नेछन् । प्रत्येक राष्ट्रले घरेलु मैदानमा तीन श्रृंखला खेल्नेछन् भने ६ श्रृंखला अन्य राष्ट्रका मैदानमा खेल्नेछन् । प्रतियोगितामा शीर्ष चारमा रहने टोली सोझै सन् २०२७ मा हुने एकदिवसीय विश्वकपको छनोटमा सहभागी हुनेछन् ।
नेपाली टोलीमा कप्तान रोहित पौडेलसहित दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, भीम सार्की, गुलशनकुमार झा, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी छन् ।

