Kath Khabar
विश्वकप लिग २ : नेपाल अमेरिकासँग १०६ रनले पराजित

                         काठमाडौं, कात्तिक ९ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ । अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछाएको नेपालले ३९.२ ओभरमा अलआउट हुदै १५६ रन मात्र बनायो।

नेपालको ब्याटिंग नचल्दा अमेरिकाविरुद्ध ठुलो हार बेहोरेको छ ।  हारसँगै १७ खेलमा नेपालले १२ अंक जोडेको छ । १२ अंकसँगै नेपाल सातौँ स्थानमा छ । नेपाललाई हराएको अमेरिका २१ खेलमा ३० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ४० रन बनाएका थिए भने आसिफ सेखले ३७ रन बनाए । त्यस्तै भिम सार्कीले २९, आरिफ सेखले २०, सोमपाल कामीले ११ रन बनाएका थिए ।  नेपालका लागि सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी, आरिफ शेख र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

अमेरिकाको लागि हरमीत सिंहले सर्वाधिक ५ विकेट लिएका थिए । उनले ८ ओभरमा एक मेडनसहित २६ रन खर्चिए । हरमीतले ओपनर आसिफसहित गुल्शन, सोमपाल, करण र सन्दीपको विकेट लिएका थिए ।

नेपालले अब सिरिजको आफ्नो दोस्रो खेलमा बिहीबार युएईसँग प्रतिस्पर्धा गर्नेछ । युएई भ्रमणका क्रममा नेपालले अब तीन खेल खेल्न बाँकी छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update