Kath Khabar
चलचित्र ‘परान’ आजबाट देशभरका सिनेमा हलहरूमा

                           काठमाडौं, कात्तिक १४ । नेपाली कथानक चलचित्र ‘परान’ आजबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । बिहीबार राती काठमाडौंमा आयोजित ग्राण्ड प्रिमियरमा ‘परान’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ । फिल्मले देशभर ६४ भन्दा बढी शोहरू प्राप्त गरेको छ । 

दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको यस चलचित्रमा वरिष्ठ अभिनेता नीर शाहलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ ।  उनीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, सीमा काफ्ले, दमन रुपाखेती, पुष्पराज ओझा, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यदीप आचार्य तथा आरभजंग अधिकारीको पनि अभिनय रहेको छ । 

भावनात्मक पारिवारिक कथावस्तुमा आधारित रहेकेा याे फिल्म हेरिसकेपछि धेरै दर्शक भावुक देखिएका थिए । वरिष्ठ अभिनेता हरिवंश आचार्य, ‘जेरी अनटप’का निर्देशक सुयोग गुरुङ लगायत अन्य सेलिब्रेटीहरुले पनि फिल्म सकारात्मक प्रतिक्रिया दिएका थिए । उनीहरुले ‘परान’ हेर्दा धेरैले आफ्नो घरको कथा महसुस गर्न सक्ने भएकाले सबैलाई फिल्म हेर्न सबैलाई आग्रह गरे।

यस चलचित्रमा गायक प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन् भने गीतमा निर्देशक दीपक आचार्यकै शब्द र रिदम कँडेलको संगीत रहेको छ ।  शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेको फिल्ममा शिवराम श्रेष्ठकाे छायांकन र मित्र डी गुरुङकाे सम्पादन रहेकाे छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १४, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update