काठमाडौं, कात्तिक २६ । भारतीय वरिष्ठ अभिनेता धर्मेन्द्र बुधबार बिहान अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन् । ८९ वर्षका वरिष्ठ अभिनेता धर्मेन्द्रलाई नोभेम्बर १ मा सास फेर्न कठिनाइ भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल स्रोतका अनुसार उनलाई अब घरमै विश्राम गर्न र नियमित स्वास्थ्य परीक्षण गराउन सुझाव दिइएको छ। उनकी छोरी ईशा देओलले सामाजिक सञ्जालमार्फत फ्यानहरूलाई बुबाको स्वास्थ्य स्थिर छ। उनले धर्मेन्द्रको स्वास्थ्यबारे फैलाइएका हल्लाहरूको खण्डन पनि गरेकी छन् । धर्मेन्द्रको स्वास्थ्यबारे सामाजिक सञ्जालमा फैलिएर गएको निधनसम्बन्धी गलत सूचना र अफवाहपछि परिवारले औपचारिक विज्ञप्ति जारी गर्दै उनी पूर्ण रूपमा स्वस्थ हुँदै गएको पुष्टि गरेको हो ।
मंगलबार सामाजिक सञ्जालमा धर्मेन्द्रको निधनबारेका गलत समाचारहरू फैलिएको थियो । भारतीय रक्षामन्त्री राजनाथ सिंह र प्रसिद्ध लेखक–गीतकार जावेद अख्तरले गल्तीले सामाजिक सञ्जालमा धर्मेन्द्रको निधनप्रति शोक सन्देश लेखेका थिए । ती पोस्टहरूपछि उनको मृत्युको भ्रम फैलिएको थियो ।

