काठमाडौं, कात्तिक २० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ डिभिजन लिग स्थगित गरेपछि असन्तुष्ट खेलाडीहरूले आज सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यालय बाहिर विरोध प्रदर्शन गरेका छन् ।
नेपाल फुटबल खेलाडी संघको आयोजनामा खेलाडीहरूले बिहीबार विरोध प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा अन्जन विष्ट, विकेश कुथु, बिराज महर्जन र रोहित चन्द लगायत राष्ट्रिय टोलीका खेलाडीहरूको पनि उपस्थिति रहेको छ ।
लिग स्थगित गर्ने निर्णयप्रति फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामालगायत अन्य पदाधिकारी, खेलाडी र समर्थकहरूले कडा आपत्ति जनाएका छन् । यसअघि बुधबार खेलाडी संघले नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्तालाई यस विषयमा ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएको थियो । उनीहरुले छिटो भन्दा छिटो ए डिभिजन लिगलाई अघि बढाउन माग गरेका छन् ।

