काठमाडौं, कात्तिक २८ । अब राष्ट्रिय परिचयपत्र भएका नागरिकलाई मतदाता नामावलीमा दर्ता गर्न निर्वाचन कार्यालय धाउन नपर्ने भएको छ ।
निर्वाचन आयोगका अनुसार परिचयपत्र नम्बर भएका नागरिकले अनलाइन प्रणालीमार्फत नै आफ्नो नाम मतदाता नामावलीमा दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । बढ्दो दबाबका कारण प्रक्रियालाई सहज बनाउन राष्ट्रिय परिचयपत्रका लागि सङ्कलन गरिएको बायोमेट्रिक तथ्याङ्क प्रयोग गर्ने निर्णय गरिएको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार राष्ट्रिय परिचयपत्र प्रणालीलाई औपचारिक रूपमा मतदाता नामावलीसँग जोडिएको छ । आयोगले मतदाता नामावली संकलनलाई सहज बनाउन बुधबार राति नै आवश्यक प्राविधिक तयारी सम्पन्न गरेको हो । अब अनलाइनमार्फत फारम भर्ने नागरिकका बायोमेट्रिक विवरण राष्ट्रिय परिचयपत्र डेटाबेसबाटै लिइनेछ ।
यसअघि मतदाता नामावलीको अनलाईन फर्म भरेपछि पनि कार्यालयमा गएर फोटो खिच्ने, बायोमेट्रिक दिनु पर्थ्यो । अब भने त्यो बाध्यता हटेको छ । राष्ट्रिय परिचयपत्र हुनेहरूले सबै काम अब घर बसेरै अनलाइनबाट यो लिङ्क https://applyvr.election.gov.np/.../Prer.../EnterMobileNo... मा गएर भर्न सक्नेछन् ।

