काठमाडौं, कात्तिक २८ । काठमाडौं महानगरपालिकाले खुला मञ्च सबैका लागि सधैँका लागि खुला गर्ने तयारी गरेको छ । भूकम्पपछि वीर अस्पताल, दरबार हाइ स्कूल जस्ता संरचना पुनःनिर्माणका सामग्री राख्ने, काठमाडौं टावर निर्माणको निर्माण सामग्री राख्ने तथा अस्थायी बसपार्क सञ्चालन गर्ने प्रयोजनमा ल्याइएको खुला मञ्चलाई पुनःनिर्माण तथा सजावटको काम गरेर खुला गर्न तयार पारिरहेको हो ।
प्राकृतिक दुबोसहितको घाँसे चाैर, खुला मञ्चको अहिलेको अवस्था हो । खुला मञ्चको चाैरमा १४ हजार ६ सय वर्गमिटर क्षेत्रफलमा प्राकृतिक दुबो रोपिएको छ । उबडखावड मिलाइएको ठाउँमा नेपाली दुवो रोपेपछि अहिले चाैर लोभलाग्दो भएको छ । महानगरपालिकाको सार्वजनिक निर्माण विभागले कार्यान्वयन गरिरहेको, खेलकुद पूर्वाधारको मर्मत, सम्भार, सुधार तथा स्तरोन्नति गर्ने कार्यक्रमअन्तर्गत चाैरमा मलिलो माटो राखेर दुबो रोप्ने काम भएको हो ।
महानगरपालिकाका सबै वडामा खेलकुद पूर्वाधारमा काम गर्न ६ करोड ९८ लाख ७० हजार रुपियाँ विनियोजन भएको छ । यही कार्यक्रमबाट खुला मञ्चको चाैरमा दुबो रोपिएको हो । यसका लागि करिब ९० लाख रुपियाँ खर्च भएको छ । चाैरको वरिपरि ४ मिटर चौडाइको पैदल बनाइएको छ । सहरका विभिन्न ठाउँका पैदल मार्ग स्तरउन्नति गर्दा निकालिएका हेक्जागोनल ब्लकहरु ल्याएर यस ठाउँको पैदल मार्ग बनाउन पुनःप्रयोग गरिएको हो ।
पैदल मार्गमा २१ वटा विजुलीका पोल राखिएका छन् । यी पोलहरु न्यूरोडको पैदल मार्ग विस्तारका क्रममा निकालिएका पोल पुनःप्रयोग गरिएका हुन् । यी पोलहरुमा टु आर्म छन् । यसमध्ये एउटा मैदानतर्फ फर्किएको आर्ममा १ सय वाट क्षमताको र एउटा पैदल मार्गतर्फ फर्किएको आर्ममा ३० वाट क्षमताको बत्ती राखिएको छ । यी बत्तीहरु डे नाइट सेन्सरयुक्त छन् । रातमा बल्छन् । दिनमा आफैँ निभ्छन् ।
चाैरबाट पश्चिम तर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ् गर्ने ठाउँ बनाइएको छ । यो ठाउँ भलिवल, व्याटमिन्टन जस्ता खेल र पार्किङ्जस्ता प्रयोजनमा ल्याउन सकिन्छ । यदि यहाँ पार्किङ् गरियो भने ४० वटा चारपाङ्ग्रे र १ सय वटा २ पाङ्ग्रे सवारी साधन राख्न सकिन्छ ।
यसका लागि चाैरका ६ ठाउँमा ४ फिट व्यास र ४ फिट नै गहिराइ भएका वाटर रिचार्ज पिटहरु बनाइएका छन् । खुला मञ्च २३ हजार ४१५ वर्गमिटर (४६ रोपनी १ दाम) क्षेत्रमा फैलिएको छ । मञ्चको टुँडिखेलतर्फ २२० मिटर लामो छ भने रत्नपार्कतर्फ १९० मिटर छ । चौडाइमा प्राधिकरणतर्फ करिब ११० मिटर छ भने वीर अस्पतालतर्फ ११७ मिटर छ । चाैरबाट पश्चिम तर्फको मुख्य द्वारबाट गिटीमाथि स्टोन डस्ट राखेर पार्किङ् गर्ने ठाउँ बनाइएको छ । यो ठाउँ भलिवल, व्याटमिन्टन जस्ता खेल र पार्किङ्जस्ता प्रयोजनमा ल्याउन सकिन्छ । यदि यहाँ पार्किङ् गरियो भने ४० वटा चारपाङ्ग्रे र १ सय वटा २ पाङ्ग्रे सवारी साधन राख्न सकिन्छ ।
पूर्वाधार निर्माण र सजावटका सबै काम सकेपछि खुला मञ्च सबैका लागि खुला गरिने योजना रहेको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिए । खुला मञ्च बहुउपयोगी स्थानका रुपमा प्रयोग हुनेछ । विहान शारीरिक अभ्यास गर्न सकिनेछ । बालबालिकाहरुका लागि स्वतन्त्र खेल्ने ठाउँ हुनेछ । पाका उमेरका व्यक्तिहरुका लागि टहल्ने, आराम गर्ने र सहरी जीवन नियाल्ने ठाउँ हुनेछ । मर्निङ् वाकका लागि उपयुक्त मार्ग हुनेछ । युवाहरुलाई खेल प्रशिक्षण गर्ने तथा रमाउने ठाउँ हुनेछ । (KMC)

