Kath Khabar
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय

                          बंगलादेश, काठमाडौं, मंसिर १ । बंगलादेशको एक विशेष अदालतले पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सुनाएको छ । ढाकाको अन्तर्राष्ट्रिय अपराध ट्राइब्यूनलले सोमबार उनलाई ‘मानवता विरुद्धका अपराध’ गरेको ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । 

ट्राइब्यूनलले उनलाई जुलाई २०२४ को विद्यार्थी आन्दोलनका क्रममा भएको हत्याकाण्डको मास्टरमाइन्ड भएको आरोप लगाएको छ । ट्राइब्यूनलले दोस्रो आरोपी पूर्व गृहमन्त्री असद्दुज्जमान खानलाई पनि १२ जनाको हत्या गरेको दोषी ठहराउँदै फाँसीको सजाय सुनाएको छ । बङ्गलादेशमा पहिलो पटक अन्तर्राष्ट्रिय अपराध ट्राइब्यूनलले एक तत्कालीन प्रधानमन्त्री विरुद्ध फैसला गरेको हो ।

त्यस्तै, तेस्रो आरोपी पूर्व आइजीपी अब्दुल्ला अल–ममुन लाई ५ वर्षको जेल सजाय सुनाइएको छ । ममुन हिरासतमा रहेका छन् र सरकारी साक्षी बनिसकेका छन् । अदालतले हसिना र असद्दुज्जमान कमालको सम्पत्ति जफत गर्ने आदेश पनि दिएको छ । 

सन् २०२४ अगस्ट ५ मा ढाकाको चन्खरपुल क्षेत्रमा प्रहरीले गोली चलाउँदा छ विद्यार्थीको मृत्यु भएको र त्यसको प्रत्यक्ष जिम्मेवारी शीर्ष नेतृत्वमाथि परेको अदालतको निष्कर्ष छ । त्यही दिन आशुलियामा पनि छ जनालाई गोली हानेर पाँच जनाको शव जलाइएको र एक जनालाई जीवितै जलाइएको आरोप कागजातमा उल्लेख छ ।

शेख हसिना र पूर्व गृहमन्त्री असद्दुज्जमानले ५ अगस्ट २०२४ को सत्ता परिवर्तनपछि आन्दोलनको बेला ज्यान जोगाएर देश छोडेका थिए । दुवै नेता विगत १५ महिनादेखि भारतमा बस्दै आएका छन् । 

शेख हसिनामाथि लागेका ५ आरोपहरू यस्ता छन् -

१)  हत्याको आदेश दिनु

२) भड्काऊ भाषण दिएर हिंसा गराउनु

३) न्यायमा बाधा पुर्‍याउनु / प्रमाण नष्ट गर्ने प्रयास

४) विद्यार्थी अबु सईदको हत्या गर्न आदेश दिनु

५) चांखारपुलमा ५ जनाको हत्या गराउनु र उनका शवहरू जलाउनु

अदालतले शेख हसिनालाई पहिलो र दोस्रो आरोपमा मृत्युदण्डको सजाय सुनाएको हो भने आरोप २ र आरोप ३ मा दोषी ठहराएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update