नयाँ दिल्ली, मंसिर ८ । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । ८९ वर्षको उमेरमा धर्मेन्द्रले जुहूस्थित आफ्नै निवासमा अन्तिम सास लिएका हुन् । यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन् ।
लामो समयदेखि उनको स्वास्थ्य स्थिति नाजुक थियो । १२ नोभेम्बरमा परिवारको आग्रहमा ब्रीच क्याण्डी अस्पतालबाट डिस्चार्ज गरिएको थियो । त्यसपछि घरमै उनको उपचार भइरहेको थियो ।
धर्मेन्द्रको स्वास्थ्य केही दिनयता लगातार खराब भइरहेको थियो । उनलाई केही दिनअघि अस्पतालमा भर्ना गरिएको थियो, त्यहाबाट १२ नोभेम्बरमा डिस्चार्ज गरिएको थियो । त्यसपछि उनको उपचार घरमै चलिरहेको थियो । परिवारले उनको ९०औँ जन्मदिन धूमधामसँग मनाउने तयारी गरेको खबर पनि आएको थियो ।
धर्मेन्द्रले बलिउडमा ६५ वर्ष लामो करिअरमा ३०० भन्दा धेरै फिल्महरूमा काम गरे र हिन्दी सिनेमामा सबैभन्दा धेरै हिट फिल्महरूको रेकर्ड बनाए । धर्मेन्द्रले १९६० मा ‘दिल भी तेरा हम भी तेरे’ फिल्मबाट हिन्दी सिनेमामा डेब्यू गरेका थिए र केही वर्षमै अत्यन्त लोकप्रिय बने ।
उनका ‘ऐ मिलन की बेला’, ‘फूल और पत्थर’ र ‘आए दिन बहार के’ जस्ता फिल्महरूले उनलाई रातारात सुपरस्टार बनाए, जसका कारण उनलाई ‘ही–म्यान’को दर्जा दिइयो, जो आज पनि कायम छ । उनको कल्ट क्लासिक फिल्म ‘शोले’ पुनः रिलिज हुँदैछ, जसले १२ डिसेम्बरमा पुनः हलहरूमा रिलिज हुनेछ ।
यस्तै, उनकी फिल्म ‘इक्कीस’ को आज पोष्टर रिलिज गरिएको थियो, जसमा उनी निकै भावुक देखिएका थिए । ‘ही–म्यान’को यो फिल्म २५ डिसेम्बर मा रिलिज हुँदैछ ।

