काठमाडौं, मंसिर ६ । नेपाल प्रिमियर लिग (एनपीएल) मा अन्तर्गत आज दुई खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल कर्णाली याक्स र लुम्बिनी लायन्सबीच हुँदैछ ।
यो खेल बिहान ११:१५ बजे सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा लुम्बिनी लायन्स रहेको छ भने सोमपाल कामीले कर्णाली याक्सको कप्तानी गरेका छन् ।
पहिलो खेलमा चितवन राइनोजलाई हराएको लुम्बिनी दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा चितवन राइनोजसँग पराजय भोगेको कर्णालीको पनि यो दोस्रो खेल हो ।
त्यस्तै, शनिबारको दोस्रो खेलमा काठमाडौं गोर्खाजले विराटनगर किंग्ससँग सामना गर्नेछ । यो खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो ३:३० बजे सुरु हुने तालिका रहेको छ ।
करण केसीको नेतृत्वमा रहेको काठमाडौंले आफ्नो तेस्रो खेल खेल्ने तयारी गरेको छ । काठमाडौंले आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्टलाई पराजित गरेको थियो तर दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग स्तब्ध भएको थियो।
सन्दिप लामिछानेको कप्तानीमा रहेको विराटनगर लगातार दोस्रो जितको खोजीमा छ । विराटनगरले आफ्नो पहिलो खेलमा पोखरा एभेन्जर्स विरुद्ध ५३ रनले प्रभावशाली जित हासिल गरेको थियो ।

