Kath Khabar
‘तोवा’ हिमाली भेगमा बस्ने शेर्पाहरुको बिशेष परिकार

काठमाडौं, भदौ १९ । तोवा अथवा बाँको हिमाली क्षेत्रमा बस्ने शेर्पाहरुले प्राचिन समय देखि नै बिशेष परिकारको रुपमा खाने एक लोकप्रिय खाना मध्ये पर्दछ । हिमाली र उच्च पहाडी भागको समुद्र सतह देखि १९०० मिटर देखि ३०० हजार मिटर सम्मा बिभिन्न खालको बाँकोहरु पाईन्छ । ति मध्ये सेतो बाँको, (तोव कर्मु), पहेलो बाँको (तोव् सेर्तोक), सानो खालको तोव खुम्दोक् गरी बिशेष गरी तीन खालको बाँकोहरु खान लायकको हुन्छ । यि तोवहरु श्रावण महिना देखि असोज महिनासम्ममा खन्न लायकको हुन्छ ।

कसरी उम्रिन्छ तोवा ?
बर्षादको समयमा बिशेष गरी श्रावण महिनामा फुल फुलेर भदौ अन्तिमतिर रातो दानामा परिणत हुन्छ र तिनै दानाहरुलाई भ्याकुरा चरा र कालिजले खाएपछि जंगलतिर बिष्ट्याउदा त्यहीबाट उम्रिन्छ । उम्रेको तिन देखि पाँच बर्षभित्र मात्र यिनिहरु खान लायक हुन्छ ।

कसरी बनाउने ?
तोवाको जरा गोलो जाँतो आकारको हुन्छ । यसलाई राम्ररी उसिनेर ढुङगाको ठुलो सिलौटामा मज्जाले काठको गोलेकले पिधिन्छ । पुरा मैदा बेलेको आकरमा परिणत भए पछि थालमा राखेर दुईहातको हत्केलाको बिचमा रगाटेर थुक्पाको आकार बनाईन्छ । यसो गर्दा यसमा रहेको एसिडको कारण हात चिलाउछ र पोल्छ पनि त्यसको लागि नौनि घिउ लाउनु पर्छ । अब यि तयारी थुक्पा आकारलाई चौरी गाईको उज्यारो, चिजको स्वाद भएको मिसाएर झोल बनाईन्छ त्यसमा टिम्बुर, नुन खुर्सानी मिलाएर हाले पछि तोव मिसाईन्छ र खाईन्छ । तर होस गर्नु होस खाँदा, नचपाई त्यतिकै थोर थोरै गरेर निल्नु पर्छ । भोलि दिसा गर्दा भने मल्द्वार अलि चिलाएको महसुस हुन्छ, कारण एसिडले गर्दा ।

तोव खानाको फाईदा ?
तोव निक्कै पौष्टिक र अरिलो खाद्य बस्तु हो । शेर्पाहरु हिमाल चढ्न सक्नु, छाति बलियो हुनुको कारण थुप्रै रहस्यहरु छन् । यि मध्ये एक तोव बेलाबेलामा सिजन अनुसार खानेले गर्दा हो । भित्र दुध भन्दा सेतो भएको कारण यसले छालामा चमक ल्याउँदछ त्यसैले यसलाई क्यानडामा कस्मेटिक बनाउनमा प्रयोग गर्दछन् । तोव खानाले पेटको हावा, आन्द्रामा भएको बिकारको रासायनहरु सफा गरेर बाहिर निकाल्ने मदत गर्दछ । ग्याष्ट्रिक र दमको रोगीले तोव खानाले निको हुन्छ, औषधि जन्य गुण भएको तोवको बिशेषता यहाँ लेखेर साध्य छैन ।

काठमाडौंको ठुला नामी रिसोर्टहरुमा तोवाको ठुलो माग रहेको छ । शेर्पाहरुको फुड फेस्टिभल चल्दा तोवाको परिकार राखेकै पाईन्छ तर यो औधि महँगो भने छ है । एक प्लेटको १२०० रुपैयाँ, त्यो पनि सतप्रतिशत तोव हैन केहि मैदा आलु मिसाको देखिन्छ । काठमाडौंबाट बिगत बर्ष देखि अत्याधिक माग भएको कारण हाल सोलुखुम्बु जिल्लाको थुलुङ दुधकोशी गाँउ पालिका ९, कुरिमामा हाईल्याण्ड अर्गेनिक कृषि जडिबुटी तथा पशुपन्छी फार्ममा यसको ब्यवसायिक खेती शुरु गरेको छ । धुलिखेल र नमोबुद्धको रिसोर्टहरुबाट र केही काठमाडौंको तारे होटलबाट समेत माग रहेको तर अहिले पुर्ति गर्न केहि बर्ष कुर्नु पर्ने फार्मका संचालक छिरिङ तेन्जिङ शेर्पा बताउनु हुन्छ ।

तोव खानेहरुले मात्र हिमाल चढ्न सक्ने
‘पर्वतारोहण गर्ने आरोहीहरुले प्रायः धेर थोर गाँउ घरमा तोव खाएकै हुन्छन् त्यसैले उनिहरुले मात्र हिमाल चढ्न सक्छन् । बिदेशीहरु त शेर्पाहरुले बोकेर डोर्याएर माथि पुराको पो त ।’ फार्म संचालक शेर्पा भन्नुहुन्छ । हाल जर्मनमा हिमाल आरोहणको लागी चाहिने हाईमा खाने खाना बनाउने एक कम्पनिले तोवाको बारेमा माग गरेको बताउनुहुन्छ तर आफुसंग सामान भएर पनि नेपाल सरकारको कागजी जटिलताको कारण यि बस्तुहरु पठाउन सकिरहेको छैन, शेर्पाको भनाई छ ।

शेर्पाका अनुसार हालको महामारीको अवस्थामा तोव सेवान धेरै राम्रो भएको र आफ्नो फार्ममा हाल दश हजार बोट माथि खाना र खन्न लायकको र दुईलाख बोट जति नर्सरीमै बेर्न तयारी अवस्थामा रहेको बताउनुहुन्छ। भबिष्यमा ब्यवसायिकरुपमा तोवाको पिठो बनाएर स्वदेश तथा बिदेशमा निर्यात गर्ने शेर्पाको भनाई छ । यो महत्वपुर्ण गुणले भरिएको तर ओझेलमा परेको तोवाको ब्यवसायिक खेती गर्ने आफु नेपालमै पहिलो व्यक्ति रहेको पनि शेर्पाको दाबी छ ।

 

प्रकाशित मिति: शनिबार, भदौ १९, २०७८  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update