Kath Khabar
सन्दिप र करणको घातक बलिङमा ओमान सस्तैमा समेटियो, नेपालका सामु १ सय २२ रनको झिनो लक्ष्य

ओमान, भदौ २३। ओमानले नेपाललाई १ सय २२ रनको झिनो लक्ष्य दिएको छ । तीब्र गतिका बलर करण केसी र स्पिनर सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गरी चार चार विकेट लिएपछि घरेलु टोली सस्तैमा समेटिएको हो ।

अल अमरात क्रिकेट मैदानमा टस हारे पहिले ब्याटिङ गरेको ओमान ३७ दशमलव एक ओभरमा सबै विकेट गुमाएर एक सय २१ रनमा समेटियो ।  करण र सन्दिपले घातक बलिङ गरेपछि ओमानले १३ ओभरको समाप्तीमा ४३ रन बनाउँदा सुरुवाती ६ विकेट गुमाएको थियो । दुई दशमलव चार ओभरमा करनले जतिन्दर सिंहलाई पेभेलिएन पठाउनु भएको थियो ।

ओपनर सिंह मात्र १३ रनमा आउट हुनुभएको हो सिरिजको अघिल्लो भेटमा उहाँले नेपाल विरुद्ध शतक प्रहार गर्नुभएको थियो । करणले ६ दशमलव पाँच ओभरमा अर्का ओपनर सुत्यान मेमुद र ८ दशमलव पाँच ओभरमा आयन खानलाई आउट गर्नुभयो । एघार ओभरको समाप्तीमा मोहम्मद नादिमको विकेट लिएका सन्दिपले १४ ओभरमा दुई विकेट लिनुभयो ।

सन्दिपले सो ओभरको चौथो बलमा नेपाली मुलका सुरज कुमारलाई बोल्ड आउट गर्नुभयो र पाचौँ बलमा नेष्टर डाम्बालाई एल बि डब्लु आउट गरेर ओमानलाई संकटमा पार्नुभउको हो । २१ दशमलव दुई ओभरमा शरद भेषवाकरले सन्दिप गौडलाई आउट गर्नुभयो । शरदको ओडिआइमा यो पहिलो विकेट हो । २९ दशमलव चार ओभरमा शरदले व्यक्तिगत दोस्रो  विकेट लिनुभयो ।

अन्तिम दुई ब्याट्सम्यानलाई क्रमश सन्दिप र करणले एक एक विकेट लिएपछि ओमान ३७ दशमलव एक ओभरमा समेटिएको हो । सन्दिप र करणले समान चार चार विकेट लिँदा सरदको नाममा दुई विकेट रह्यो ।  

प्रकाशित मिति: आइतबार, असोज ३, २०७८  १९:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update