काठमाडौं, असोज ३ । विश्वकप लिग टु अन्तगर्त त्रिकोणात्मक सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले ओमान माथि सात विकेट जित हात पारेको छ । नेपालको जितमा करण केसी र सन्दिप लामिछानेले उत्कृष्ट बलिङ गर्दा कप्तान ज्ञानेन्द्र मल्ल अर्धशतकीय पारी खेल्नुभयो ।
अल अमरात क्रिकेट मैदानमा टस हारे पहिले ब्याटिङ गरेको ओमान ३७ दशमलव एक ओभरमा सबै विकेट गुमाएर एक सय २१ रनमा समेटियो । करण र सन्दिपले घातक बलिङ गरेपछि ओमानले १३ ओभरको समाप्तीमा ४३ रन बनाउँदा सुरुवाती ६ विकेट गुमाएको थियो । दुइ दशमलव चार ओभरमा करनले जतिन्दर सिंहलाई पेभेलिएन पठाउनु भएको थियो । ओपनर सिंह मात्र १३ रनमा आउट हुनुभएको हो सिरिजको अघिल्लो भेटमा उहाँले नेपाल विरुद्ध शतक प्रहार गर्नुभएको थियो । करणले ६ दशमलव पाँच ओभरमा अर्का ओपनर सुत्यान मेमुद र ८ दशमलव पाँच ओभरमा आयन खानलाई आउट गर्नुभयो ।
एघार ओभरको समाप्तीमा मोहम्मद नादिमको विकेट लिएका सन्दिपले १४ ओभरमा दुई विकेट लिनुभयो । सन्दिपले सो ओभरको चौथो बलमा नेपाली मुलका सुरज कुमारलाई बोल्ड आउट गर्नुभयो र पाचौँ बलमा नेष्टर डाम्बालाई एल बि डब्लु आउट गरेर ओमानलाई संकटमा पार्नुभएको हो । २१ दशमलव दुई ओभरमा शरद भेषवाकरले सन्दिप गौडलाइ आउट गर्नुभयो । शरदको ओडिआइमा यो पहिलो विकेट हो । २९ दशमलव चार ओभरमा शरदले व्यक्तिगत दोस्रो विकेट लिनुभयो । अन्तिम दुई ब्याट्सम्यानलाई क्रमश सन्दिप र करणले एक एक विकेट लिएपछि ओमान ३७ दशमलव एक ओभरमा समेटिएको हो । सन्दिप र करणले समान चार चार विकेट लिँदा सरदको नाममा दुई विकेट रह्यो ।
नेपालले एक सय २२ रनको झिनो लक्ष्य १८ दशमलव दुई ओभरमा तीन विकेट गुमाएर पुरा गर्यो । ओपनर कुशल भुर्तेललाई गुमाएपछि संयमित देखिएको नेपालले दोस्रो विकेटका लागि ९५ रनको साझेदारी गर्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित रहँदै अर्धसतकिय पारी खेल्नुभयो । उहाँले ४६ बलमा चार चौका र दुइ छक्काको मद्धतमा ५२ रनका बनाउनुभएको हो । यता आसिफ शेखले चालिस रनको पारी खेल्नु भयो । योसँगैै नेपालले ओमान सिरिजको सुखद अन्त्य गरेको छ । सिरिजमा चार खेलमा खेल्दा दुइ जित हात पारेको नेपाल नामिबिया र युएइलाई उच्छिन्दै चौथो स्थानमा उक्लेको छ । नेपालको ८ अंक छ । शिर्ष स्थानको ओमानको २० र अमेरिकाको १४ अंक रहेको छ ।