Kath khabar
साल्मेले देखाएको पर्यटकीय सम्भावना


काठमाडौं, फागुन १०। साल्मे डाँडाका लागि पदयात्रा अर्थात ‘हाइक फर साल्मे डाँडा’ सम्पन्न भएको छ । वि विल राइज फाउण्डेसन नेपाल र पोखरेली मञ्च युकेको संयुक्त आयोजनामा आइतबार उक्त पदयात्रा सम्पन्न भएको हो । पदयात्रा बिहान ९ बजे पोखरास्थित मटिखान टावरबाट सुरु भएको थियो । करिव ६० जना यात्रुलाई मटिखानस्थित जेन्टलमेन युथ क्लबका युवा, जनजागृति आमा समूहका महिलाले फूलमाला, खादा र पञ्चेबाजासहित स्वागत गर्नुभएको थियो । 


पदयात्रामा अभिनेत्री करिश्मा मानन्धर, गायिका सुनिता दुलाल, कीर्तिमान आरोही फुर्वा तेन्जिङ शेर्पालगायतका चर्चित व्यक्तिहरू सहभागी रहनुभएको थियो । यसैगरी, यात्राका क्रममा स्याङ्जा रामटीस्थित न्यू चण्डी कालिका इङ्लिस बोर्डिङ स्कुलका विद्यार्थीले भव्य स्वागत गर्नुभयो। त्यसपछि रामकोट होम स्टेमा पैदलयात्रुहरुले खानपिन गरेपछि साल्मेडाँडा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो । पैदलयात्रामा सहभागि सबैले साल्मेमा निर्माणाधीन गोर्खा स्मारक पार्कको समेत अवलोकन गर्नुभयो ।

पोखरेली मञ्च युकेका अध्यक्ष मानप्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तेज गुरुङ, नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष खड्ग रानाभाट, गोरखा स्मारक पार्क व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर गुरुङ, महासचिव डा. चन्द्र गुरुङलगायतको उपस्थिति थियो । कार्यक्रममा अभिनेत्री मानन्धरले पर्यटन प्रवर्द्धन गर्ने कर्ममा संलग्न हुन पाउँदा खुशी लागेको बताउनुभयो । ‘नेपालका कुना काप्चाका ठाउँलाई हामीले यसैगरी चिनाउने हो,’ उहाँले भन्नुभयो, ‘आज साल्मेमा निर्माणाधीन गोरखा स्मारक पार्क देख्दा साह्रै खुशी लाग्यो । यसलाई पर्यटकीय केन्द्र बनाउनका लागि मेरो व्यक्तिगत र वि विल राइज फाउण्डेसनको तर्फबाट सक्दो सहयोग गर्नेछु ।’


यसैगरी, गायिका सुनिता दुलालले कुनैपनि देश समृद्ध बन्नका लागि पर्यटनलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो । ‘वि विल राइज फाउन्डेसन र पोखरेली मञ्च युकेले विगतका दिनमा नेपाललाई विश्वसामु चिनाउन होस् या नेपालको पर्यटन प्रवर्द्धन गर्न होस् सँगै सहयात्रा गर्दै आएका छौं,’ फाउण्डेसनको निर्देशक (पब्लिक रिलेसन राष्ट्रिय अन्तराष्ट्रिय)समेत रहेकी दुलालले भन्नुभयो, ‘हङहङ, बेलायतलगायतका देशमा ‘हाइक फर नेपाल’ का माध्यमबाट नेपाल चिनाउनेदेखि साल्मे डाँडासम्म हामी सँगै छौं ।’ कार्यक्रममा दुलालले गोर्खा भूतपूर्व सैनिक संघको (गेसो) को अगुवाइमा निर्माणाधीन स्मारकका लागि फाउण्डेशनको तर्फबाट दुई लाख रुपैंयाँ आर्थिक सहयोगको समेत घोषणा गर्नुभएको छ ।

त्यस्तै परिषद्का सदस्य सचिव तेजले पर्यटन प्रवद्र्धनलाई केन्द्रमा राखेर उदाहरणीय काम गरेका भन्दै आयोजक संस्थालाई धन्यवाद दिनुभयो । साथै, कुभिण्डे भञ्ज्याङदेखि साल्मे डाँडासम्म हुने पर्वतीय दौड आयोजना गर्नका लागि खेलकुद परिषद्ले सहयोग गर्ने आश्वासन समेत दिनुभयो ।


कार्यक्रमका सभाध्यक्ष मानप्रसादले आफ्नो गाउँ ठाउँ सरकार वा अन्य कुनै दातृ निकायको सहयोगले मात्र विकास हुन्छ भन्ने सोचबाट मुक्त हुनुपर्ने बताउनुभयो । ‘हामीले पनि गर्न सक्छौं, किनकी हामीले पोखरा म्याराथन हुँदै साल्मे डाँडा पदयात्रालाई पनि जोड्न सक्यौं,’ पोखरेली मञ्च युकेका अध्यक्ष समेत रहेका मानप्रसादले भन्नुभयो, ‘यसलाई हामी आगामी दिनमा समेत निरन्तरता दिनेछौं, पदयात्रामा सहभागि हुनुभएकोमा सबैलाई धन्यवाद ।’

 

 

प्रकाशित मिति: मंगलबार, फागुन १०, २०७८  ११:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update