 
                                                                    
      बैतडी, वैशाख ३१। त्रिपुरासुन्दरी मन्दिर, सुदूरपश्चिम प्रदेशको बैतडी जिल्ला, दशरथचन्द नगरपालिका वडा नं. ८ त्रिपुरासुन्दरीमा पर्दछ । सुदूरपश्चिम प्रदेशकै प्रमुख सात देवीहरु मध्ये एक त्रिपुरासुन्दरी, जिल्ला सदरमुकाम बैतडीदेखि पश्चिम ३ किमी दुरीमा पर्दछ ।
यो मन्दिर देशको सय पर्यटकीय गन्तब्यको सुचिमा रहेको छ । बैतडी जिल्लाको सदरमुकाम पुग्न कैलाली जिल्लाको अत्तरियाबाट महाकाली राजमार्ग हुँदै १० घण्टा लाग्छ । यो बैतडी जिल्लाको प्रमुख धार्मिक स्थल भएकाले यहाँ नेपालभरिका साथसाथै छिमेकी देश भारतको उत्तराखण्ड राज्य, पिथौरागढ जिल्लाबाट पनि तीर्थालु तथा भक्तजनको घुँइचो हुने गर्छ । यहाँ दर्शन गरेपछि मनले सोचेको पूरा हुने, सुख शान्ति प्राप्त हुने जन विश्वास रहेको यहाँका स्थानीय प्रतिमा थापा बताउनुहुन्छ । त्रिपुरासुन्दरी देवीलाई रणसैनी भगवती पनि भन्ने गरिन्छ उहाँले बताउनुभयो ।
त्रिपुरासुन्दरी मन्दिर अद्भूत वास्तुकलाको लागि परिचित छ। मन्दिर प्यागोडा शैलीमा निर्माण गरिएको छ र रातो रंगको संगमरमरको टाइलले सजाइएको छ। रातो रंग देवी दुर्गाको प्रतीक पनि मानिन्छ जुन आदि पराशक्ति, युद्धकी देवी, सकारात्मकता (दैवी शक्तिहरू), आशाको प्रतीकको रूपमा पनि चिनिन्छ।
संक्रान्ति, पूर्णिमा, दशैं, गौरा, जस्ता विशेष अवसरमा देशभित्र र बाहिरबाट हजारौं तीर्थयात्रीहरू आफ्नो मनोकामना पूरा गर्ने ठूलो आशा लिएर देवी भगवतीको पूजा-आराधना गर्ने गर्दछन् । आषाढ र कार्तिक शुक्ल अष्टमी र नवमीमा भगवतीको पूजा गरी ठूलो पर्वको रुपमा क्रमश आषाढी र कार्तिक जात्रा मनाइन्छ । प्रत्येक जात्रामा भगवतीको ‘भणार जात्रा’ हुन्छ र सो जात्रामा कापडी गाउँको मन्दिरबाट बैतडेली भाषामा प्याउलो अर्थात भगवतीको स्वर्ण प्रतिमा राखी मन्दिरको देवलमा ल्याइन्छ । यस अवसरमा भगवती देवीलाई प्रसन्न पार्न सयौं राँगा र हजारौं बोकाको बलि चढाइन्छ। मानिसहरुले यस स्थानमा आषाढको मेला, आश्विनको नवरात्रीमेला, र कार्तिक जात्रामा बढी भ्रमण गर्दछन् ।
'यहाँ दैनिक ९०-१०० जना र मेला पर्वमा ४०-४५ हजार मानिसहरु भेला हुन्छन्। यस स्थलमा बार्षिक सरदर २-३ लाख मानिसहरुले भ्रमण गर्दछन् । भ्रमण गर्ने मानिसहरु प्राय बैतडी जिल्ला र छिमेकी जिल्लाका साथै भारतबाट पनि आउने गर्छन । यस मन्दिरको खास विशेषता भनेको मन्दिरको भित्ताको खोपामा रहेको सिहंवाहिनी त्रिपुरासुन्दरीको शिला मुर्ति तथा मन्दिरको प्राङगणमा स्तम्भमाथि रहेको चामुण्डा र वराहको मुर्तिहरु हुन्। मन्दिरमा हाल थापा (पूर्व पुजारा) लाई मन्दिरको उचित व्यवस्थापनको लागि बहुमत अधिकार दिइएको छ', थापा बताउनुहुन्छ ।
मन्दिर रहेको गाउँको नाम पुजारागाउँ हो जुन स्थानीय बासिन्दाहरूको पूर्व जातको नामबाट दिइएको हो। मन्दिरको परिधिमा बसोबास गर्ने स्थानीय बासिन्दालाई ‘राठ’ भनिने समूहमा विभाजन गरिएको छ। राठमा, थापा, मौनी, चन्द, गुरु र अन्य जातिहरु पर्दछन् । यो मन्दिर कलाको अनुपम नक्सा, उपासकहरूका लागि आकर्षणको बिन्दु र नेपालीहरूका लागि बहुमूल्य सांस्कृतिक सम्पदा हो। त्यसैले नेपाल साँस्कृतिक सम्पदाले निकै धनी भएकाले पर्यटन प्रवद्र्धन, स्थानीय जनताको आर्थिक विकास र स्थलको प्रवद्र्धनका लागि यस्ता धार्मिकस्थलको जानकारी प्रवाह गर्न आवश्यक छ ।


 
                                                 
                                                 
                                                 
                     
                    -1761560628.png) 
                     
                    