Kath khabar
आज बुद्ध जयन्ती, सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै 

            काठमाडौं, जेठ २ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याउनुभएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । “अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६६औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । आम मानिसलाई बेलुकी घरमा दीपावली गरेर बुद्ध जयन्ती मनाउन सरकारले आह्वान गरेको छ । यस अवसरमा लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा छ ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५६६ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । ब्रिटिस लाइब्रेरी ब्लगका अनुसार, “प्रत्येक पूर्णिमाको दिन बौद्ध धर्मावलम्बीहरूको लागि शुभ दिन हो, तर सबैभन्दा महत्त्वपूर्ण मे महिनाको पूर्णिमाको दिन हो किनभने गौतम बुद्धको जीवनमा तीनवटा प्रमुख घटनाहरू यस दिन घटेका थिए।

पहिलो, राजकुमार सिद्धार्थको जन्म मे महिनाको पूर्णिमाको दिन लुम्बिनीमा भएको थियो। दोस्रो, छ वर्षको कठिन तपस्यापछि उनले बोधिवृक्षको छायामुनि बुद्धत्व प्राप्त गरे जुन मे महिनाको पूर्णिमाको दिन थियो। तेस्रो, सत्यको उपदेश दिएको ४५ वर्षपछि कुसिनारामा ८० वर्षको उमेरमा उहाँ सबै कामनाको अन्त्य गर्ने निब्बानामा देहान्त हुनुभयो जुन मे महिनाको पूर्णिमाको दिन थियो।

प्रकाशित मिति: सोमबार, जेठ २, २०७९  ११:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update