काठमाडौं, जेठ ८ । गायिका पारु राई एक दशकपछि पुनः आफ्नो सांगीतिक कोसेली तिम्रो तृष्णा बोलको गीत लिएर दर्शक र स्रोता सामु आउनुभएको छ । एक दशकअघि प्यास नामक गिती एल्बमबाट सांगितिक यात्रा तय गर्नुभएकी राईले “तिम्रो तृष्णा” बोलको गीत लिएर दर्शक सामु पुनः आउनुभएको हो ।
राईलाई भ्वाईस अफ नेपालका फाईनलिष्ट विकाश लिम्बुले साथ दिनुभएको छ । पछिल्लो समय बिकाश सम्भावना बोकेका गायकको रुपमा परिचित हुनुहुन्छ । गीतको शब्द रचना गायिका स्वयंको हो भने संगीत वरिष्ठ गायक तथा संगीतकार तारा प्रकाश लिम्बुले भर्नुभएको छ । यूके र नेपालका विभिन्न सुन्दर तथा रमणीय ठाउँमा छायांकन गरिएको यो भिडियोमा छांयाकन, सम्पादन एवं निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गर्नुभएको हो र नेपालतर्फ सुरज तामाङले निर्देशन गर्नुभएको हो ।
करिब डेढ दशक यता ब्रिटिश गोर्खा सेनामा सेवारत साथै सामाजिक अभियन्ता मण्डल थेवे, पारु राई, बिकाश लिम्बु र बृक्षा लिम्बुले यस गीतमा अभिनय गर्र्नुभएको छ । साथै मेकअप बिपना गुरुङ, सह-छायाँकन आशिष श्रेष्ठ र रंग संयोजन नविन निरौलाको रहेको छ । टिकटकमा समेत राम्रो फलोअर कमाएका मण्डल थेवे टिकटकमा प्राय गोर्खा भर्ती सम्वन्धी जानकारी एवं सन्देशमुलक भिडियोहरु हाल्ने गर्नुहुुन्छ । सानै उमेरदेखि कलाकारितामा झुकाव भएकोले अवसर पाएसम्म समय मिलाएर कलाकारितामा निरन्तर लाग्ने उहाँको भनाई छ ।
नेपाल छँदै संगीतको आधारभुत शिक्षा लिइसकेकी गायिका आफ्नो पारिवारिक जिम्मेवारीको कारण आफ्नो सांगीतिक यात्रालाई औपचारिक रुपमा निरन्तरता दिन नसके पनि बिगत तीन वर्षयता दि लण्डन कलेज अफ म्युजिक अन्तर्गत क्लासिकल पियानो सम्बन्धी कक्षा लिई लिईरहनुभएको छ ।
प्रवासमा रहेर आफुलाई मन पर्ने पेशा अङगाल्न सोचे जस्तो सहज छैन तथापि ब्रिटिश आर्मीमा कार्यरत श्रीमान दिलिप राईको साथ र प्रोत्साहनले आगामाी दिनमा सांगीतिक छेत्रमा निरन्तर लाग्न अझ धेरै प्रेरित गरेको उहाँले बताउनभुयो । नेपाल पाँचथरमा जन्मिएकी पारु हाल बेलायतमा पल्टने जीवन बिताईरहन भएकी पारु राई करिब ९ वर्षदेखि स–परिवार बेलायत बस्दै आउनुुभएको छ ।