Kath khabar
महोत्तरीमा सर्पको बिगबिगी

           महोत्तरी, साउन ६। असार मध्य सम्मको सघन वर्षा र त्यस यताको चर्को घामले जिल्लाको उत्तरी क्षेत्रमा सर्पको बिगबिगी निकै बढेको छ । असार मध्यअघिको बर्खाले पानीले दुला भरिएपछि बाहिर निस्केका सर्पको अहिले बिगबिगी बढेको हो । बर्दिबास-३ गौरी डाँडास्थित सर्पदंश उपचार केन्द्रमा अहिले सर्पदंशको उपचार लिन आउने दिनदिनै थप्पिदै छन् । सामान्यतया सघन वर्षासँगै दुलामा पानी भरिँदा र चर्को गर्मीमा शीतल ताप्न सर्प दुलाबाट बाहिर आउँछन् । दुवै कारण ग्रिष्म र बर्खामा पर्ने भएको हुँदा अहिले सर्पको बिगबिगी बढेको हो । यही साउन महिनाको पहिलो साता पूरा नबित्दै केन्द्रमा २३ जना सर्पदंशका बिरामी उपचार लिन आइसकेका छन् ।

हाल सम्म उपचारका लागि आएका २३ सर्पदंशका बिरामी मध्ये १ घटना मात्र अति विषालु करेतले डसेको घटना पाइएको केन्द्रले जनाएको छ । अन्य २२ कडा विष नभएका सर्प बिच्छीको टोकाइ भेटिएको केन्द्रका उपचार प्राविधिक टोलीका प्रमुख इन्द्र बहादुर केसीले बताउनुभयो । 

सामान्यतया कडा विष नहुने सर्प र बिच्छीले टोक्दा पनि त्यो नचिन्दा टोकाइमा पर्ने आत्तिएर बढी गम्भीर हुने गरेका उपचार प्राविधिक टोलीको अनुभव छ । पछिल्लो पटक असार मध्य उताको सघन वर्षा र त्यस यताको चर्को गर्मी छल्न सर्प दुलाबाट निस्कने क्रमसँगै घटना बाक्लिएका हुन् । सर्पदंशका घटनामा ६० प्रतिशत महिला पर्ने गरेका छन् । घाँस पातको काम गर्दा र शौचालय नहुँदा अध्याँरोमा दिसापिसाव गर्न बाहिर निस्कँदा मधेसमा सर्पदंशका घटनामा महिला बढी पर्ने गरेका सर्पदंश उपचार केन्द्र सञ्चालक समिति बर्दिबास-३ गौरी डाँडाका अध्यक्ष कृष्ण देवकोटाको भनाइ छ ।

जिल्लाको बर्दिबास नगरपालिकाका वडा नं १, २, ३, ४ र १४ सर्पको समस्या बढी भएको पाइन्छ । त्यसैगरी जिल्लाका गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना बाक्लै हुने ठाउँमा पर्ने उहाँको भनाइ छ । सर्पले टोकेका बिरामी बर्दिबास बाहेक अन्यत्र पनि उपचार लिन जाने हुँदा आफ्नो केन्द्रमा दर्ता भए भन्दा निकै बढी घटना हुने गरेका उहाँ बताउनुहुन्छ । पछिल्लो पटक यसै साउनको पहिलो साताकै प्रारम्भमा जिल्लाकै गौशाला स्थित प्राथमिक स्वास्थ्योपचार केन्द्रले पनि सर्पदंशको उपचार सेवा दिन थालेपछि त्यसभेगका बिरामी आउन केही कमी भएको केन्द्रले जनाएको छ ।

विसं २०७१ साउन ३१ गते स्थापना भई सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्र बर्दिवास-३ मा यसको व्यवस्थापन गर्ने समुदाय स्तरको सञ्चालक समिति र उपचारमा खटिने नेपाली सेनाका दक्ष ६ जना प्राविधिक कार्यरत छन् । केन्द्रले सेवा सञ्चालन भएदेखि गत असार मसान्त (आव २०७८-७९ को अन्त्य) सम्म २ हजार ८८१ सर्पदंशका बिरामीको सफल उपचार गरिसकेको छ । आव २०७८-७९ मा ९७७, आव २०७७-७८ मा ३०७, आव २०७६-७७ मा २७४, आव २०७५-७६ मा ३१९, आव २०७४-७५ मा २९६, आव २०७३-७४ मा २७३, आव २०७२-७३ मा २७० र आव २०७१-७२ मा १६५ जना रहेका केन्द्रले जनाएको छ ।

केन्द्रमा उपचारका लागि नेपाली सेनाले उपलब्ध गराएका दक्ष प्राविधिक र औषधि (एन्टी स्नेक भाइल) हरदम तयार अवस्थामा रहे पनि भेन्टिलेटर नहुँदा कतिपय गम्भीर अवस्थाका बिरामीलाई अन्यत्र रेफर गर्नुपरेको केन्द्रले जनाएको छ ।

केन्द्रले पछिल्लो १ महिना (२०७९ असार) देखि एम्बुलेन्स सेवा दिन थालेको छ । गम्भीर प्रकृतिका भेन्टिलेटरमा सघन उपचार गरिनुपर्नेलाई त्यस्तो सेवा दिने अस्पताल सम्म पुर्‍याउन र घटना भएको थाहा पाइना साथ बिरामीलाई यथाशक्य चाँडै केन्द्रमा ल्याई पुर्‍याउन एम्बुलेन्स सेवा दिन थालिएको अध्यक्ष देवकोटाले जानकारी दिनुभयो ।

केन्द्रमै वा बर्दिबास अस्पतालमा भेन्टिलेटर प्रबन्धका लागि बर्दिबास नगरपालिका र स्वास्थ्य मन्त्रालयमा पटक पटक आग्रह गरिँदै आइए पनि हालसम्म यो सेवा दिन नसकिएको केन्द्रका अध्यक्ष देवकोटा बताउनुहुन्छ ।
 

प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update