Kath Khabar
सरकारी साधनमा मन्त्री प्रचारमुखी सांसद क्षेत्रमुखी: चुनावको वाध्यता कि आफ्नै रहर ? 

काठमाण्डौं, जेठ १२ । देशमा जब चुनावको मौसम शुरु हुन्छ त्यसले सरोकारहरु बीचमा लोकप्रियताको होडबाजी पनि बढाउछ, यो नराम्रो होइन । तर यस क्रममा जब मन्त्री बढी प्रचारमुखी हुन्छन् र सांसद क्षेत्रमुखी त्यसले चाहि धेरै प्रश्नहरु खडा गर्छन । यसबाट राष्ट्रका साधनस्रोतको त्यही रुपमा प्रयोग-दुरुपयोग हुन्छ भने यो चुनावको वाध्यता हो कि आफ्नै रहरबाट भैरहेका छन् ?  

तत्सम्बन्धी खबरका केही नमूना -

खबर नम्बर एक :
संघीय सरकारका वनमन्त्री प्रेम बहादुर आलेले छिमेकी देश चीनसरकारले नेपाल देशका लागि अनुदानमा दिएको अक्सिजन सिलिण्डर अरु औषधी आफ्नो निर्वाचन क्षेत्रका अस्पतालहरुमा वितरण गर्नु भयो ।  त्यो ठाउँमा विरामीहरुका उपचारमा चाहिने अत्यावश्यक वस्तु अक्सिजन अस्पताललाई दिइयो, यो कुनै अन्यथाको कुरा होइन  । तर अन्यथा त्यतिबेला भयो जब यो एउटा कुनै देशले अर्थात त्यो सरकारले अर्को सरकार नेपाललाई अनुदान दिएको वस्तु मन्त्रीले आफ्नोे निजी बनाएर प्रयोग भएको देखियो । बिरामीहरुका उपचारमा चाहिने अक्सिजन सिलिण्डर अस्पताललाइ दिइयो, यो कुनै अन्यथाको कुरा होइन  ।  

तर अन्यथा त्यतिबेला भयो जव यो एउटा सरकारले अर्को सरकारलाई  अनुदान दिएको वस्तु कसैले आफनो निजी बनाए । मन्त्री आलेले जिल्ला अस्पताललाई हस्तान्तरण गर्नुभएका ती अक्सिजन सिलिण्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्री’ लेखिएको फोटो सहितको स्टिकर टाँसिएको थियो । जेठ १० गतेको यी सामाग्री  वितरण समारोहमा मन्त्री आलेमाथि सरकारी खर्चको हेलिकप्टर मार्फत गृह जिल्ला डोटी पुग्नु भएकोे भन्ने आरोप पनि लाग्यो । यसमा एउटा त अरु कसैले दिएको अनुदानको वस्तुमा  आफ्नो सौजन्यता लेखिनु र त्यो वितरण गर्न जाँदा सरकारी स्रोत साधनको प्रयोग हुनु आफैमा गर्न हुने कुरा थिएन ।

चिन सरकारले आफुले गरेको सहयोगको अलग्गै पहिचान होस भनी नेपाल देशका लागि अनुदानमा दिएका यी अक्सिजन सिलिण्डरको अलग्गै पहिचान हुनेगरी नीलो रंगमा उपलव्ध गराएको थियो । मन्त्री आलेबाट यी सिलिण्डर आफै खरिद गरिएको भनियो तर ती रंग आफै साक्षी थिए यी तिनै अनुदानका हुन भन्ने । मन्त्री आलेबाटै पनि केही सिलिण्डर स्वास्थ्य विभागबाट प्राप्त भएका भनिएको छ । विभागबाट प्राप्त यो रंगका सिलिण्डर जति हुन ती अनुदानकै हुन भन्ने प्रष्टै छ । विभागबाट बितरित जहाँजहाँ यो रंगका सिलिण्डर देखिन्छन्-भेटिन्छन् ती चिन सरकारले नेपाल सरकारलाई सहयोग दिएको भन्ने बुझ्नु पर्छ । अनुदानका वस्तु विक्रीका हुँदैनन् । कसैले बिक्री गरेका पाइए त्यो अपराध हुन्छ । 

अर्को स्वास्थ्य सामाग्रीमा यस्तो व्यक्तिगत परिचयका कुनै स्टिकरहरु टास्न पाइँदैन, त्यो आफैले खरिद नै गरिएको भएपनि, औषधीय अवस्थाको जानकारी बाहेक । अक्सिजनको त्यो सिलिण्डरमा लेखिएको ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामाग्री’ भन्ने व्यहोराको फोटो सहितको स्टिकर औषधीय जानकारीको होइन भन्ने आफैँ प्रष्ट छ । तर मन्त्री आलेमाथि अहिलेसम्म यो के भएको हो भनी सामान्यरुपको अनुसन्धान समेत भएको पाइएन । मन्त्रीबाट भएको  मान्छेको ज्यान जोगाउने यो काम प्रशंसाको विषय हो तर यसमा जे भयो त्यो मन्त्री बढी प्रचारमुखी  भएका भनिएर मात्रै नपुग्ला । 

खबर नम्बर दुई :
माथिको यो विवरण केन्द्रियबाट सम्पन्न भएको कामको हो । मन्त्रीका यस्तो प्रचार प्रदेशमा पनि सरेको देखियो । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ आफै कोराना संक्रमित हुनुहुन्छ । संक्रमणकै कारण र सरकारले निर्धारण गरेको प्रोटोकल अनुसार उहाँ होम आइसलेसनमा बस्नु भएको छ । संक्रमित व्यक्ति आफ्नो स्वास्थ्य लाभ त छँदैछ त्यो भन्दा अरुमा नसरोस भन्नका लागि यस्तो एकान्तवासमा बस्नुपरेको हो । सरकार आफैले पनि नागरिक समक्ष यस्तै अनुरोध सहितको जानकारी प्रवाह गरिरहेको छ । सो अनुसार हुँदा संक्रमित व्यक्ति यसरी सार्वजनि हुनहुँदैन जवसम्म त्यो विषाणु शरिरमा  रहिरहन्छ । रिपोर्टमा आए अनुसार यो बेलासम्म उहाँको रिपोर्टमा नेगेटिभ  देखिएको छैन तर काम भने यसरी चलिरहेको छ - मुख्यमन्त्रीका लागि कोरोना पोजेटिभ भनेको केही होइन । 

समाचार विवरणमा नै आए, पोजेटिभ रिपोर्ट देखिएपछि नै उहाँले थुप्रै उद्धघाटन शिलान्यास गर्नुभयो । राजनीतिक काम त झनै सामान्य नै भए । जस्तो  मुख्यमन्त्री गुरुङलाई कोरोना संक्रमण भएको २२ वैशाखमा पुष्टि भएको थियो । त्यस यता होम आइसोलेशनमा बसेका क्रममा नै सत्ताको तानातानी सुरु भयो । त्यही कारण संक्रमण देखिएको चौथो दिन २६ गते पदबाट राजीनामा नै आयो । २९ गते फेरि ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्ती हुनु भयो  ।

संक्रमित भएर एकान्तवासकै अवस्थामा सपथ, मन्त्रिपरिषद् विस्तार, आफै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पनि सम्हाले काम पनि भए । एकान्तवासमै कर्मचारीलाई जम्मा गरेर कोरोनाविरुद्ध लड्न निर्देशन दिनुभयो । पोखरा-३३ लेखनाथ मोहोरियास्थित प्रदेश संक्रामक तथा सरुवा रोग अस्पतालको शल्यक्रिया तथा सघन उपचार कक्ष (आईसीयू) को  स्थलमा नै गएर उद्धघाटन गर्नुभयो । 

समाचारको यो विवरण भित्रको एउटा अंशलाई अझ ध्यान दिइयो भने अवस्था झनै गम्भीर देखिन्छ । त्यो हो अरुलाई संक्रमण सर्छ भनेर अर्थात नसरोस भनेर एकान्तवासमा बसेका व्यक्ति-पदाधिकारी  यसरी सार्वजनिक भैरहनु भएको छ र यता  आफ्ना मातहतका कर्मचारीलाई चाहिँ कोरोनाविरुद्ध कडा रुपले लड्न निर्देशन आउँछ भने त्यसको के अर्थ होला बुझ्न  नसकिने भयो ।

खबर नम्बर तीन :
निर्वाचन घोषणा भएपछि लोकप्रियता कायम गर्ने सन्दर्भमा चिनियाँ अक्सिजन सिलिण्डरले बवण्डर नै मच्चाएको अर्को पनि उदाहरण प्रकट भयो । यो चाहिँ सांसदको आफ्नो क्षेत्र मोह को हो । सांसदबाटै भनियो ‘जनताको लागि राज्यको सम्पत्ति लुटे । अनुदानमा प्राप्त चिनियाँ अक्सिजन सिलिण्डर राजधानी आइ पुग्दा नपुग्दै सरकारले कोटा निर्धारण गरेर अस्पताललाई वितरण गर्ने भयो । तर भनिएको संख्यामा ती अस्पतालले पाएनन् । सिलिण्डर कहाँ गयो भन्ने खोजी भयो ।

यिनै सिलिण्डरका केही थान सांसदको घरमा भेटिए । यो विवरण सामाजिक सन्जालमा पोष्ट भयो र भाइरल पनि । यो भिडियोमा तिनै निलो रंगका सिलिण्डर थिए जो अनुदानको हो । जनताले अक्सिजन सिलिण्डर नपाएर अस्पतालमा ज्यान गुमाइरहेको बेला सांसदले घरमा अक्सिजन सिलिण्डर थुपारेको भन्ने विवरणले आक्रोश जन्माउनु स्वाभाविक थियो । भयो पनि त्यस्तै । 

अक्सिजनका यी सिलिण्डर घरमा भेटिएको भनिनु भएकी सांसद हुनुहुन्थ्यो सत्तारुढदल एमालेकी गंगा चौधरी । जब उहाँको निवासबाट यी सिलिण्डर भेटिए त्यसपछि उहाँको प्रतिकृया आयो ‘राज्यले दिएको सम्पत्ति जनताको लागि लुटें । यो मेरो लागि होइन, लमही अस्पतालको लागि हो ।’

अक्सिजनले भरिएको सिललिण्डर जसका हातमा परेपनि  जुनसुकै ठाउँका भएपनि मान्छे कै शरिरमा जाने हो । उहाँकै अनुसार पनि या आफ्नो व्यक्तिगत प्रयोजनका लागि नभई दाङको लमहीस्थित आइसोलेशन सेन्टरको लागि पाँच थान अक्सिजन सिलिण्डर घरमा ल्याएर राखिएको हो । 

‘राज्यले दिएको सम्पत्ति जनताको लागि लुटें । यो मेरो लागि होइन, आफ्नो क्षेत्रको अस्पताल-लमही अस्पतालको लागि हो’ भनिएको विवरणमा इमान्दारीपन छ नै । तर सांसद जस्ता पदले यसरी ‘राज्यले दिएको सम्पत्ति जनताको लागि लुटें’ भनेर गर्वका साथ भन्न मिल्छ, यो पनि त निर्वाचनले यस्ता पदाधिकारीलाई यसरी राज्यको सम्पत्ति दिनदहाडै लुट्ने सम्मको ठाउँमा पुर्‍याएको हो कि उहाँका रहरले यस्तो गरायो भन्ने आफै एउटा प्रश्न बन्ला । 

प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update