
काठमाडौं, जेठ १३ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले कोभिड निको भइसकेकाहरुको स्वास्थ्यमा आउन सक्ने समस्या र त्यसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गरी पोस्ट कोभिड क्लिनिकको शुरुवात गरेको छ ।
कोभिड ठीक भएपछि पनि स्वास्थ्यमा विभिन्न समस्या आउने क्रम बढेर गएको निष्कर्ष निकाल्दै त्यस्ता बिरामीहरुको मात्र उपचार गर्ने उद्देश्यले अस्पतालले डेडिकेटेड विशेषज्ञसहितको पोस्ट कोभिड क्लिनिक संचालनमा ल्याएको हो । क्लिनिकमा कोभिडपछि देखिने सबै खालका स्वास्थ्य समस्याको उपचार गरिन्छ ।
नर्भिक इन्टरनेशनल हस्पिटलका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा. जेपी जैसवालका अनुसार नेपालमा समेत कोभिडपछि विभिन्न स्वास्थ्य समस्या भोग्नेहरुको संख्या बढिरहेको छ । कोभिड ठीक भएको लामो समयसम्म पनि धेरैलाई सामान्य शारीरिक समस्या हुँदा नै थकाई लाग्ने, छाति दुख्ने, निद्रा नलाग्ने, डिप्रेसन हुने, ब्लड प्रेसर हुने, हिड्दा स्वाँ स्वाँ हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्याहरु देखिने गर्छन । यस्ता समस्यालाई बेवास्ता गर्न नहुने डा. जैसवाल बताउनुहुन्छ । यस्ता समस्या हुनेहरुले नर्भिकको पोस्ट कोभिड क्लिनिकमा आएर स्तरीय उपचार सेवा लिनसक्ने उहाँकोे भनाई छ ।