Kath khabar
आठ दिशाहरूको वास्तुदोषको सुधार कसरी गर्ने ?
डा./इ. दुर्गा बहादुर श्रेष्ठ


              काठमाडौं, असोज ९। वास्तुपुरुष मण्डलमा जम्मा चार मुख्य दिशाहरू हुन्छन् । त्यसमध्ये चारवटा दुई दिशाको मिलन कोणहरू हुन्छन् । वास्तुशास्त्रको नियम अनुसार घर तथा भवनहरू बनाउँदा केही न केही त्रुटिहरू हुनजान्छन् । त्यसको लागि हामीलाई सुधारको आवश्यकता पर्दछ । ती आठ दिशाको दोष सुधार निम्न अनुसार गरिन्छ ।

पूर्व दिशाको दोष सुधार  
- घरको मूलढोकामा दायाँ बायाँ तामाको कलशमा पानी राख्ने, आँप, पीपलको पात राख्ने ।
- पूर्वतर्फ सकेसम्म सँधै रातो दियो बाल्ने ।
- पूर्वतिर गमलामा सयपत्री फूल राख्ने ।
- पूर्वतिर सँधै सफासुग्घर राख्ने ।
- पूर्वतिर होचो र पानी बग्ने हुनु पर्ने ।

दक्षिण दिशाको दोषको सुधार
- दक्षिणतिर आफ्नो जग्गामा वाउन्डरी वाल लगाउने र दूध आउने रूख छ भने हटाउने ।
- दक्षिण भाग अग्लो बनाउने
- दक्षिण-पूर्व कुनामा रातो दियो बाल्ने ।
- सधै ग्याँस चुल्हो र हिटर  दक्षिण-पूर्वमा राख्ने ।
- दक्षिण दिशा तर्फ भएको इनार, कुवा वा पानी ट्याङ्की भए हटाउनु राम्रो हुन्छ ।

पश्चिम दिशाको दोष सुधार  
- दक्षिण-पूर्व कुनामा खाना बनाउन नपाए पश्चिम दिशामा बनाउन सकिन्छ तर पूर्व फर्केर पकाउँदा राम्रो हुन्छ ।
- घरको  पश्चिम दिशामा पीपलको बोट भए राम्रो हुन्छ ।
- सुत्ने कोठाको उत्तर-पूर्वमा पानीको फिल्टर राख्दा राम्रो हुन्छ ।
 - शनिश्चरबार कानचिरेको जोगीलाई दान गर्ने र कुकुरलाई खाना दिने ।

उत्तर दिशाको दोष सुधार
- उत्तर दिशाको दोष सुधार गर्ने र उत्तर-पूर्व कुनामा गणेशको पूजा गर्ने
- उत्तरतर्फ अग्लो रूख भए हटाउने
- उत्तरतर्फ भरसक घर बनाउँदा अरु दिशाको भन्दा ठूलो ठाउँ छोड्नु राम्रो हुन्छ ।
- हरियो रँग उत्तर तिरको पर्खालमा लगाउने ।
- इनार, ट्याँकी र धारा राख्ने ।

ईशान कोण (उत्तर-पूर्व दिशा) को दोष सुधार
- ईशानको कुना सबै दिशाको कुना भन्दा होचो राख्नु पर्दछ ।
- ईशान कोण तर्फ अग्लो डिस्को, बोट बिरुवा छ भने हटाउनु राम्रो हुन्छ ।
- ईशान कोणमा ट्वाइलेट छ भने तुरुन्त हटाउने ।
- ईशान कोण भगवानको स्थान भएकोले सधै सफा राख्ने ।  
- ईशान कोणमा तुलसीको मठ तयार गर्नु शुभ हुन्छ ।

आग्नेय कोण (दक्षिण-पूर्व दिशाको) दोष सुधार
- आग्नेय कोणमा भान्छा कोठासँग इनार, कुवा र धारा छ भने तुरुन्त हटाउनु पर्दछ ।
- आग्नेय कोण दोस्रो अग्लो कुना भएकोले यो कुना माटो पुरेर भएपनि सोही स्थितिमा बनाउने ।
- आग्नेय कुनामा ढोका छ भने तुरुन्त हटाउने ।
- अग्नेय कोण सधै सफा राख्नु पर्दछ ।
- अग्नेय कोणमा रातो दियो बाल्दा राम्रो हुन्छ ।

नैऋत्य कोण (दक्षिण-पश्चिम कुना) को दोष सुधार
- नैऋत्य कोण सवै कुना भन्दा अग्लो बनाउने ।
- नैऋृत्य कोणमा इनार भए पुर्ने त्यसको पानी प्रयोग नगर्ने ।
- नैऋृत्य कोणमा मेसिनरी सामानहरू राख्ने ।
- नैऋृत्य कोणमा गेट, घरको मूल (गेट) ढोका भए हटाउने ।
- नैऋृत्य कोणमा अरु कोणको भन्दा कम हुने गरी भाग लगाउनु पर्दछ ।

वायव्य कोण (उत्तर-पश्चिम कुनाको) दोष सुधार  
- वायब्य कोणमा समिको बोट रोप्नु राम्रो हुन्छ ।
- वायब्य कोणमा सफा राख्नु पर्दछ । नैऋृत्य कोणबाट बगेको पानी ईशान कोणमा पठाउने गरी बनाउनुपर्दछ ।
- वायब्य कोणमा वास्तुदोष सुधारको लागि “शिवशीक्त कवज” को उपयोग गर्न सकिन्छ ।
- वायब्य कोणमा सेतो फुल्ने फूल गमलामा रोपेर पनि दोष सुधार गरिन्छ ।

वास्तुदोष सुधारका अरु विधिहरू  
मानिसहरूमा विभिन्न तुजुक र अहङ्कार बढी एक अर्कोसँग बढी दाउँपेच र देखासिकीको भरमा नक्कल गरी घर तथा भवनहरू वास्तुशास्त्रको नियम विपरित बनाउने प्रचलन हाम्रो सामु धेरै छन् । यस्तो अवस्थाका घरमा ऐना, बत्तिको बल्ब, तुलसीको मठ, क्र्रिष्टल, पंखा, वाँसुरी, गमलामा फूल आदि, इत्यादि राखेर वास्तुदोषलाई सुधार गर्न सकिन्छ । तिनीहरूको छोटकरीमा ब्याख्या निम्नानुसार गरिन्छ ।

काँचको ऐना राखिने ठाऊँ  
भर्याङको अवस्था उत्तरबाट दक्षिण र पूर्वबाट पश्चिम दायाँ घुमेर (घडी घुम्ने दिशामा) जानु पर्नेमा उल्टो भई बायाँ घुम्दा उल्टो दिशा परेको स्थितिमा ऐना राखेर दोषको सुधार गरिन्छ साथै दराज, टवाईलेटको प्यान, कोठाको अवश्था मिलाउन, ढोका आदिमा गोलो र आयतकार ऐना राखेर दोषको सुधार गरिन्छ ।

बल्ब राखिने ठाऊँ
झ्याल र ढोका राख्नु पर्ने ठाउँमा नभएर अँध्यारो भएको स्थितिमा इलेक्ट्रिकबाट बल्ने बल्ब, मरकरी वा दियो बालेर उज्यालो पारी वास्तुदोष सुधार गरिन्छ । कोणको ईशान कोणमा बल्ब वा दियो राखिन्छ ।  

क्रिष्टल राखेर सुधार गरिने
घरको बनोटमा विभिन्न किसिमको समस्या आउने जस्तै विम, कोणको वा कुना नमिलेको सजावटमा बहुमुल्य चीजको तालमेल मिलाउन पर्ने अवस्था आएमा क्रिष्टल राखेर वास्तुसुधार गर्नु पर्दछ ।

पंखा राखेर वास्तुदोषको सुधार गरिने  
आफ्नो घरको छेउछाउमा विभिन्न किसिमको ठूलो घर बनेको छ भने त्यस्तो अवस्था आएमा घरको पूर्व दिशा, वायव्यकोण, आग्नेय कोण र नैऋृत्य कोणमा पंखा राखेर वास्तुदोष सुधार गर्नु पर्दछ ।

वाँसुरी राखेर वास्तुदोषको सुधार गरिने  
घरको बनोटमा कुनै कोठामा वीम झुण्डिएको छ भने त्यस बीममा  दुईवटा बाँसुरी त्रिकोणपारी बीचमा रातो कपडाले बेरेर वाँसुरीको मुख तलतिर फर्काएर बीमको बीचमा राखेर वास्तुदोषको सुधार गर्नुपर्छ । अर्को विधि भने बीमलाई फल्स सिलिङ गरी (ढाक्नु) छोप्नु झनै राम्रो हुन्छ ।

फूलको गमला राखेर वास्तुदोषको सुधार गरिने  
अहिले शहरमा विीभन्न घर तथा भवनको भित्री भागको कोठाहरू छुट्याउने क्रममा सिसाका ग्लास र आल्मुनियम फ्रेम राखेर प्रयोग गरिन्छ । यो अवस्थामा आगोको र पानी संयोग नजिक हुन गएमा फूलको गमला राखेर वास्तुदोष सुधार गर्नुपर्छ ।

डा./इ. दुर्गा बहादुर श्रेष्ठ


 

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update