काठमाडौं, जेठ १६ । सर्वोच्च अदालतको निवेदनमा नमागिएको भनिएको फागुन २३ को फैसलाले सत्तारुढदल नेकपामा जस्तो विखण्डन ल्यायो त्यो भन्दा धेरै टाढा रहेको विपक्षीदल जसपा त्यो भन्दा झन प्रभावित भयो । अहिले यो दल भित्र दुईपक्षका बीच शक्ति प्रदर्शनको चरम अवस्था प्रकट हुँदैछ । २४ घण्टे प्रष्टिकरण पछि अब एउटाले अर्कोलाई निश्कासन गर्ने होड नै चलेको छ । जेठ १५ मा देशले गणतन्त्र दिवस मनाइरहँदा यी दुई दल भने एकअर्कालाई कार्वाही गर्न चौबीस घण्टे पत्राचार गरिहेका थिए । यो पत्र पनि कस्तो भने उनीहरुले जस्तो प्रष्टिकरण दिएपनि कार्वाही हुने र त्यो कार्वाही भनेको पार्टीबाट निश्काशन नै गर्नु पर्ने ।
जसपाको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतासँग शनिवार फेरि प्रष्टीकरण माग्यो । यसअघि जेठ ११ गते तीन दिनको समय दिएर सोधिएको प्रष्टीकरणको जवाफ नआएको भन्दै यो दोस्रोपटक २४ घण्टाको समय दिएर जवाफ मागिएको हो ।
सो पत्रमा प्रथम अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला पर्नुभएको छ । यो पक्षले सोधेको प्रष्टिकरणको कारण र कार्वाही गर्न खोजेको विषय हो पार्टी निर्णयविपरीत प्रधानमन्त्री केपी ओलीको पक्षमा लागेको भन्ने । अध्यक्ष यादव समुहबाट काटिएको २४ घण्टै प्रष्टिकरण पत्रमा भनिएको छ:
‘केन्द्रीय कार्यकारिणी समितिको मिति २०७८/२/८ मा भएको निर्णयको बुँदा नं ४ बमोजिम तपाईलाई कारबाही किन नगर्ने भनी स्पष्टिकरणको जवाफ प्राप्त हुन नआएकोले दोस्रो पटक पुनः यो पत्र प्राप्त भएको मितिले २४ घण्टा भित्र चित्त बुझ्दो स्पष्टिकरण लिई आउन हुन अनुरोध छ । यो पत्र प्राप्त गरेको म्याद भित्र चित्त बुझ्दो सन्तोष जनक जवाफ प्राप्त नभएमा राजनीतिक दल सम्बन्धि ऐन, २०७३ र जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधानको ६४ (५) अर्थात हाल संशोधित धारा ६९(५), ५० (१) र मिति २०७८/२/२८ मा भएको निर्णयको बुदा न ४ बमोजिम निष्काशन समेतको कार्बाही हुनेछ ।’
ठीक यस्तै व्यहोरामा अर्को, ठाकुर पक्षले पनि यसैदिन यस्तै अर्थात २४ घण्टे नै प्रष्टिकरण सोध्यो । यादवले प्रष्टीकरण सोधिरहँदा कै समयमा ठाकुर पक्षले ११ जेठमा सात बुँदे जवाफ पेश गर्न यादवलाई निर्देशन दिएको थियो । त्यसमा पार्टी हित विपरीत काम गरेको, गुटबन्दी गरेको लगायत सात वटा बुँदामा आधारित भएर जवाफ दिन यादवलाई भनिएको थियो । त्यसको जवाफ नआएपछि उपेन्द्र यादवलाई पनि २४ घण्टे स्पष्टीकरण मागियो । त्यो पत्रको व्यहोरा पनि उस्तै छ ।
ठाकुरको पत्र यादवलाई -‘‘उपरोक्त सम्बन्धमा तपाईँलाई पार्टी विधान तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १८(१),(२),(३) र पार्टी विधानको दफा ४९ को (१),(२),(३),(५),(७),(८, दफा ५० को (१) विपरीत काम गर्नुभएकोले मिति २०७८/०२/११ को पत्र संख्या ०७७/०७८ र चलानी नम्बर १७ को पत्र प्राप्त भई व्यहोरा अवगत नै होला । अतः तपाईँसँग स्पष्टीकरण लिई तपाईँलाई सफाइको मौका दिन तपाईँलाई कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधिएकोमा आजको मितिसम्म जवाफ प्राप्त हुन नआएकोले दोस्रोपटक पुनः यो पत्र जुनसुकै माध्यमले प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्तबुझ्दो स्पष्टीकरण लिई आउनुहुन अनुरोध छ । यो पत्र प्राप्त गरेको म्यादभित्र चित्तबुझ्दो र सन्तोषजनक जवाफ प्राप्त नभएमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र जनता समाजवादी पार्टी, नेपालको अन्तरिम विधान, २०७७ बमोजिम निश्काशन समेतको कारबाही हुनेछ ।’
बुझ्न सकिन्छ यसअघि, यही दिन अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले अध्यक्ष ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्ब्रेन्द्र नाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई तोकिएको समयमा स्पष्टीकरण नबुझाएको भन्दै २४ घण्टे अल्टिमेटमसहितको पत्र पठाएपछिको जवाफी ’कार्वाही’ हो यो । यसमा सोधिएको प्रष्टिकरणको उत्तर होइन, प्र्रष्टिकरण दिने ठाउँमा अर्को प्रष्टिकरण सोध्ने होड चल्यो । आइतवार यसको २४ घण्टे म्याद सकिन्छ र यसरी नै यो प्रष्टिकरण जस्तै निश्कासनको पनि होड नै सुरु होला ।