Kathkhabar
घर वा भवनको लागि वास्तुशास्त्र


               काठमाडौं, असोज २५। प्राचीन धर्म ग्रन्थ र युग-युगमा जन्म लिएका युगपुरुषहरूको व्याख्या ऋषि-महऋर्षिहरूको महावाणी अङ्गिकार र अनुसरण गर्दै हामी आज कलियुगसम्म आइपुग्दा धर्मको स्वरूप विभिन्न धर्महरू सूत्रपात मानव जीवनको रहनसहन बसोवास बस्ने शैलीहरू दिनानुदिन परिवर्तन हुँदै गइरहेको सन्दर्भमा वास्तुशास्त्रको सिद्धान्तलाई पनि आफूखुसी परिवर्तन गर्न चाहन्छन् ।

प्राचीन समयमा देवताहरूको राज चल्दा पनि यस्तै भ्रम उत्पन्न भई निर्दिष्ट रूपमा सुधार गरिएको सभ्यदृष्य धर्म ग्रन्थमा उल्लेख भएको छ । घर वा भवनमा वास्तुशास्त्रको सिद्धान्त त झन अति महत्वपूर्ण देखिन्छ । प्राचीन धर्मशास्त्रमा वास्तु-शास्त्रलाई ५ वटा शाखाहरूमा विभाजन गरिएको छ ती हुन् -
१. सर्वसाधारण मानिसहरूको वासको लागि घर
२. धनीवर्ग र राजकुमारहरूको लागि दरबार (ठूलो हल)
३. देवताहरूको लागि मन्दिर
४. सार्वजनिक भवनको लागि (नाचघर, पुस्तकालय, विश्राम घर, गुम्बा)
५. जन सुविधाको लागि तलाउ इनार, पोखरी

वास्तुकलालाई अन्य ५ भागमा विभाजन गरिन्छ -
वास्तुपूजा : यो धार्मिक अनुष्ठानको  क्रियाहरू हुन र साथै वास्तुपूजा घर निर्माण गर्नको लागि उत्तर-पूर्व कुनामा शुभ दिन पारेर राम्रो मुहूर्तमा पूजा गर्नुपर्छ ।

बलिदान : यो धार्मिक अनुष्ठान र वास्तुकला दर्शनसँग सम्बन्धित छ । घडेरीमा विभिन्न आत्माहरू परि दृष्टिहरू हुन्छन् । वास्तुपूजा गर्दा हामीले भेटी चढाएर देवता, आत्मा तथा अन्य दुष्ट आत्माहरूसँग त्यो ठाउँ छोड्नु प्रार्थना गरिन्छ । यस किसिमको सद्भभावना प्रदर्शनले उनीहरूको शक्ति मुक्त गरिन्छ र निर्माण स्थल पवित्र हुनजान्छ ।

हलाकर्षण : घडेरीको जमिनलाई निर्माण स्थल भनिन्छ । त्यसको सतहलाई समान स्वरूप बनाइन्छ भने त्यसलाई हलार्कषण भनिन्छ ।

अङकुरारोपण : नयाँ जमिनमा पहिलो भेटी चढाउनुलाई अङकुरारोपण भनिन्छ । घर बनाउनको लागि सुरु गर्ने अवस्था भएकोले अङकुरारोपणको पनि धार्मिक महत्व छ ।

शिलान्यास : यो कार्य जगमा ढुङ्गा हाल्ने काम, जुन घर बनाउन सुरु भएको संकेत हो । वास्तु पूजाको समयमा शिलान्यास गरेको उत्तरपूर्वमा गाडिएको ढुङ्गा निकालेर घरको जगको लागि बनाइएको खाल्डोमा दक्षिण-पश्चिममा राखिन्छ ।

डिजाइनर : वास्तु-शास्त्र जान्ने व्यक्ति इन्जिनियर, कालिगड, श्रमिक (ज्यामी, मिस्त्रीहरू) भवन निर्माण सम्वन्धित मानिसहरू हुन्छन् । उनीहरूको सम्मान गर्नुपर्छ । यसलाई छैटौं धार्मिक अनुष्ठान मानिन्छ । उनीहरूलाई प्रसन्न पार्नु नै वास्तुशिल्पको सबै कार्य पूरा भएको मानिन्छ ।

- इ./डा. दुर्गा  बहादुर श्रेष्ठ

 

 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update