Kath khabar
अन्तर्राष्ट्रिय स्पेस एजेन्सी नासाको स्याटलाइटले खिचेको सूर्य मुस्कुराइरहेको तस्वीर

               

                  काठमाडौं, कात्तिक १३।  अन्तर्राष्ट्रिय स्पेस एजेन्सी नासाको स्याटलाइटले खिचेको सूर्यको तस्वीर यतिखेर चर्चामा छ । नासाले उक्त तस्वीर सार्वजनिक गर्दै सूर्य मुस्कुराइरहेको देखिएको भनेपछि थप चर्चा पाएको हो । नासाले बुधबार ट्वीटरमार्फत तस्वीर सार्वजनिक गरेको थियो ।

'आज नासाको सोलार डाइनामिक्स अब्जरभेटरीले मुस्कुराउँदै गरेको सूर्य खिचेको छ,' नासाले उक्त ट्वीटमा उल्लेख गरेको थियो । नासाका अनुसार अल्ट्राभाइलेट लाइटमा देखिने कालो धब्बालाई कोरोनल होल भनिन्छ । र, उक्त भाग त्यस्तो क्षेत्र हो, जहाँबाट तीव्र गतिको सोलार वायु अन्तरिक्षमा निस्किन्छ ।

नासाको सोलार डाइनामिक अब्जरभेटरी एउटा त्यस्तो एजेन्सी मिसन हो । यसलाई कसरी सौर्य गतिविधि सिर्जना गरिन्छ भन्ने कुराको अनुसन्धान गर्न प्रयोग गरिन्छ । यो स्याटलाइट ११ जनवरी २०२१ मा पहिलो पटक प्रक्षेपण भएको थियो ।

यो स्याटलाइट स्पेसक्राफ्टले सूर्यको आन्तरिक भाग, वातावरण, चुम्बकीय क्षेत्र र बाहिर आउने ऊर्जा मापन गर्ने गर्छ । यो तस्वीर सार्वजनिक भइसकेपछि थुप्रै प्रतिक्रिया आएका छन् । धेरैले यो तस्वीरलाई 'हल्वविन पम्किन' जस्तो भएको बताएका छन् ।

देख्दा उक्त तस्वीर आकर्षक देखिए पनि विज्ञहरूले शनिबार कोरोनल होलहरूबाट पृथ्वीमा सौर्य आँधी आउनसक्ने चेतावनी दिएका थिए । अन्तरिक्ष सम्बन्धी मौसम जानकारी दिने सञ्चार माध्यम स्पेसवेदरले ती ३ ओटा प्वालबाट आउने सौर्य आँधी पृथ्वीतर्फ सोझिएको उल्लेख गरेको थियो ।

सौर्य आँधी सौर्य सतहमा हुने विष्फोटको मास र इनर्जी हो । जसले पृथ्वीको चुम्बकीय क्षेत्रलाई विकृत गर्छ । फलस्वरूप, यो आँधीले उत्तरी र दक्षिणी गोलार्धमा ध्रुवीय लाइटको भिजिबिलिटी बढाउँछ । यसैलाई ‘अरोरास’ भन्ने गरिन्छ ।

प्रकाशित मिति: आइतबार, कात्तिक १३, २०७९  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update