Kath khabar
२०७९ सालको एसईईको आवेदन फारम खुल्ला, पुष १० गतेभित्र भरिसक्नुपर्ने


                भक्तपुर, मंसिर ९। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुला गरेको छ । बोर्डले कक्षा १० को २०७९ सालको एसईईको आवेदन फारम खुल्ला गरेको हो ।

बोर्डले शैक्षिक सत्र २०७९ मा कक्षा १० मा नियमित रुपमा अध्ययन गरिरहेका विद्यार्थीले पुष १० गतेभित्र आवेदन फाराम भरिसक्नुपर्ने जनाएको छ। बोर्डले आफ्ना सबै शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश तथा शाखा कार्यालय, शिक्षा विकास तथा समन्वय एकाई लगायतलाई समयमै आवदेन फारम भर्न भराउन समन्वय गर्नको लागि निर्देशन दिएको छ।

फारम भर्दा साधारण तथा प्राविधिक धारतर्फका विद्यालयमा हाल कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीले रजिष्ट्रेशनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिक सत्र २०७७ वा सोभन्दा पहिले आधारभूत तह (कक्षा ८) उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि (प्रधानाध्यापकबाट प्रमाणित) गरी विद्यालय पोसाकमा हाल सालै खिचिएको पासपोर्ट साइजको दुईप्रति फोटोसहित परीक्षा दस्तुर ५०० रूपैयाँ विद्यालयमा बुझाउनुपर्ने बोर्डले जनाएको छ ।

विद्यालयहरुले भने आवेदन फाराममा विद्यार्थीहरूको नाम, थर, जन्ममिति र परीक्षा दिने विषयहरू ठीकसँग भरे नभरेको रूजु गरी पछिसम्म फरक नपर्ने गरी प्रमाणित गरी अंग्रेजी अल्फाबेटको बढ्दो क्रममा फारामहरु राखी समष्टिगत र फारामको क्रम मिले नमिलेको जाँच गरी परीक्षा दस्तुर वापतको राजश्व जम्मा गरेको भौचर वा नगदी रसिद समेत सलग्न राखी २०७९ पौष १७ गते भित्र उक्त फाराम शिक्षा विकास तथा समन्वय इकाइमा बुझाइ सक्नुपर्ने बोर्डले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  १५:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update