Kath khabar
चीनमा शून्य कोभिड नीतिको विरोधमा सडकमा उत्रिए जनता, १३ सहरमा प्रदर्शन

 

               बेइजिङ,  मंसिर १२ । चीनमा शून्य कोभिड नीतिको विरोधमा जनता सडकमा उत्रिएका छन् । बेइजिङबाट सुरु भएको यो प्रदर्शन अहिले १३ वटा प्रमुख सहरमा पुगेको छ ।

उनीहरुलाई रोक्न प्रहरीले लाठीचार्ज गरी पक्राउ गरिरहे पनि जनताको आक्रोश अन्त्य हुन सकेको छैन । आइतबार राती पनि मानिसहरुले सडकमा प्रदर्शन जारी राखेका थिए ।

प्रदर्शनका क्रममा जनताले लकडाउन हटाएर स्वतन्त्रता दिनुपर्ने भन्दै नारा लगाएका छन् । आन्दोलनकारीले भने– ‘हामी प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, आन्दोलनको स्वतन्त्रता चाहन्छौं । हामीलाई हाम्रो स्वतन्त्रता दिनुहोस् ।’ जनताले राष्ट्रपति सी जिनपिङको राजीनामा समेत मागिरहेका छन् ।

चीनमा कोरोना लगातार बढिरहेको छ । गत नोभेम्बर २७ मा ४० हजार कोरोना संक्रमित भेटिएका थिए । यो अहिलेसम्मकै ठूलो संख्या हो । अहिले चीनमा सक्रिय संक्रमितको संख्या ३ लाख नाघेको छ । जसका कारण सी जिनपिङ सरकारले धेरै प्रतिबन्ध लगाएको छ ।

कडा लकडाउनका कारण ६६ लाख मानिस घरमै थुनिएका छन् । यी मानिसहरू खाद्यान्नको लागि बाहिर निस्कन समेत पाएका छैनन् । दैनिक कोभिड परीक्षणका कारण आक्रोश पनि बढ्दै गएको छ । सरकारको आचारसंहिता पालना नगर्नेलाई कडा कारबाही भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर १२, २०७९  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update