Kath khabar
समूह ‘सी’ को विजेता बन्दै अर्जेन्टिना विश्वकपको प्रि–क्वार्टरफाइनलमा

 

                       काठमाडौं, मंसिर १५ । अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ।

बिहिबार बिहान भएको समूह ‘सी’ अन्तर्गतको आफ्नो समूहको अन्तिम खेलमा अर्जेन्टिनाले पोल्यान्डलाई २-० गोलको अन्तरले हराउँदै अर्जेन्टिना फिफा विश्वकप २०२२ को प्रि-क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।

अर्जेन्टिनालाई जित दिलाउन एलेक्सिस म्याक एलिस्टर र जुलियान अल्भारेजले एक एक गोलको योगदान गरे । खेलको ३९औँ मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी पेनाल्टीमा गोल गर्न चुकेका थिए । मेस्सीले गरेको पेनाल्टी प्रहारलाई पोल्याण्डका गोलकिपर सिजेस्नीले उत्कृष्ट बचाउँ गरेका थिए ।

दोश्रो हाफमा अर्जेन्टिनाले गोलको केही सुन्दर अवसरहरुमा चुक्दा २-० गोल अन्तरको जित दर्ता गर्यो । जितसँगै अर्जेन्टिनाले तीन खेलमा दुई जित र एक हारसहित छ अङ्क जोड्यो ।

पोल्यान्ड पनि समूहको उपविजेता बन्दै दोस्रो स्थानमा रहेर नकआउट चरणमा पुगेको छ । गए राति कतारको लुसाइल रङ्गशालामा भएको खेलमा मेक्सिकोले साउदी अरबलाई २-१ गोल अन्तरले पराजित गर्यो । समान अंक रहेपनि गोलभिन्नताको आधारमा मेक्सिकोलाई पछि पार्दै पोल्याण्ड नकआउट चरणमा स्थान बनाउन सफल भएको हो ।

यसै समूह अन्तर्गत एकै समयमा भएको अर्को खेलमा साउदीमाथि मेक्सिकोले २–१ गोल अन्तरको जित निकाल्दै पोल्याण्डसँग अंक बराबरी गरेको थियो । तर गोलभिन्नताको आधारमा पछि परेको मेक्सिको साउदीसँगै विश्वकपबाट बाहिरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९  १०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update