
नवलपरासी, मंसिर १६ । पक्की (कालोपत्रे) सडक निर्माण तथा विमानस्थलहरुको धावनमार्ग कालोपत्रे गर्नका लागि नभई नहुने ‘बिटुमिन’ अर्थात् अलकत्र उद्योग खुल्ने भएको छ । नवलपरासी जिल्लाको देउचुली नगरपालिका वडा नम्बर १३ मा बिटुमिन उद्योग खुल्न लागेको हो ।
देउचुलीमा बिटुमिन उद्योग खोल्न १ मंसिरमा बिटुमिन सप्लायर्स प्रा.लि कम्पनी उद्योग विभागमा दर्ता भएको छ । यो उद्योगबाट बार्षिक २ हजार मेट्रिक टन बिटुमिन उत्पादन हुने बताइएको छ ।
यस उद्योगमा १४ करोड रुपैयाँ कुल पुँजी लगानी हुनेछ, जसमध्ये १० करोड १५ लाख रुपैयाँ चुक्ता पुँजी र ३ करोड ८५ लाख रुपैयाँ चालु पुँजी हुनेछ । यो उद्योग सञ्चालनमा आउँदा २४ जनाले रोजगारी पाउने उल्लेख छ । यो उद्योग सञ्चालनका लागि १ सय केभीए लाइनको बिजुली आवश्यक पर्नेछ ।
बिगतमा :
नेपालमा सरकारी लगानीमा विटुमिन एन्ड ब्यारेल नामक उद्योग सञ्चालनमा थियो । तर, ०४८ को उदारीकरणसँगै सो उद्योग निजीकरण भइसकेको छ । अहिले नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योग व्यवसायिक घराना पञ्चकन्या समूहले सञ्चालन गरिरहेको छ ।
यो उद्योग पूँजी बजारमा समेत सुचिकृत रहेको छ । तर, सञ्चालनमा रहेको एउटा उद्योगले समग्र बजार माग भने धान्न सक्दैन । त्यसैले बिटुमिन विदेशबाटै आयात गर्नुपर्ने बाध्यता रहेको छ ।
नेपालमा प्रशोधन हुने विटुमिनले यहाँको मागको ५ प्रतिशतजति धान्ने नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको भनाई छ । नेपाल बिटुमिन एन्ड ब्यारेल उद्योगले पोलिमर बिटुमिन उत्पादन गरी उत्पादन विविधिकरण तथा अन्य बिटुमिन उत्पादन गर्न अध्ययन गरिरहेको छ ।