Kath khabar
 आज राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन बुझाईदै



                काठमाडौं, मंसिर २९ । निर्वाचन आयोगले आज राष्ट्रपतिसमक्ष प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन प्रस्तुत गर्दैछ । आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन मत परिणामसहितको प्रतिवेदन बुझाउन लागेको हो।

आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन परिणामसहितको प्रतिवेदन निर्वाचनको नतिजा घोषणा भएको सात दिनभित्र राष्ट्रपतिसमक्ष र प्रदेशसभाको हकमा प्रदेश प्रमुखसमक्ष पठाउनुपर्ने प्रावधान छ ।

आगामी पुस २ गते प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणाम सहितको प्रतिवेदन सातै प्रदेशको राजधानीमा प्रदेशका प्रदेश प्रमुखहरूसमक्ष आयोगका पदाधिकारीहरूबाट प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ को प्रतिवेदन पठाइसकेपछि निर्वाचित सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ । आयोगले प्रतिवेदन बुझाएसँगै नयाँ संसद र सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।

प्रकाशित मिति: बिहीबार, मंसिर २९, २०७९  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update