Kath khabar
बारा २ मा उपेन्द्र यादव ५ हजार ८१ मत अन्तरले विजयी

 

                 बारा, वैशाख १३ ।  प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपेन्द्र यादव विजयी भएका छन् । यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् । जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज कुमार चौधरीका अनुसार विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् ।

पूर्वडीआईजी समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने प्रतिस्पर्धामा पछि रहे । उनले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुण कुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सोनालाल साहले ११९ मत प्राप्त गरे । नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १ सय ९ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवको पोल्टामा ६० मात्रै मत पर्‍यो ।

बारा-२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो ।बारा-२ मा मुख्य प्रतिस्पर्धामा रहेका ५ उम्मेदवार मध्ये ४ जना यस अघि मंसिर ४ मा पराजित उम्मेदवार हुन् । उपेन्द्र यादव सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख १३, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update