Kath khabar
इन्स्टाग्राममार्फत आधुनिक गहना बेच्ने स्टार्टअप टिसा नेपालको बुटिक स्टुडियो संचालनमा



               काठमाडौं, पुस २६ । दुई नेपाली युवाहरुले स्थापना गरेको स्टार्टअप टिसा नेपालले छाउनीमा बुटिक शोरुम संचालन गर्दै आफ्नो औपचारिक कारोबार शुरु गरेको घोषणा गरेको छ । इन्स्टाग्राममार्फत गरगहनाहरुको बिक्री गर्ने स्टार्टअप टिसा नेपालले आफ्नो बुटिक शोरुम स्थापना गर्दै औपचारिक कारोबार शुरु गरेको घोषणा गरेको हो ।

नेवारी भाषाको शब्दटिसा अर्थात गहना लाई प्रयोग गरेर बिगत १ वर्षदेखि अनलाइनमार्फत गरगहना बिक्री गर्दै आएको टिसा नेपालले हरेक नेपालीसम्म आफ्ना उत्पादन पुर्याउने लक्ष्य लिएको छ । सहसंस्थापकहरु अनिश मानन्धर र वर्षा मानन्धरले नेपाली ग्राहकहरुलाई सस्तो मूल्यमा आधुनिक र गुणस्तरीय गहनाहरु उपलब्ध गराउने उद्देश्यले संयुक्तरुपमा टिसा नेपाल स्थापना गरिएको जानकारी दिए । हामीले लकडाउनको समयमा यो व्यवसाय शुरु गरेका थियौं। त्यसबेला अनलाइन कारोबार मात्रै हुने गर्दथ्यो, सहसंस्थापक वर्षा मानन्धरले भनिन्, अब स्थानीयहरुलाई बुटिक शोरुमबाट समेत सेवा दिनेछौं ।

टिसा नेपालले काठमाडौं भित्र अर्डर आएको एक दिनमा नै आफ्ना उत्पादनहरु ग्राहकहरु समक्ष पुर्याईरहेको छ भने उपत्यका भन्दा बाहिर अवस्था र समय हेरेर ग्राहकहरुको माग पुरा गर्दै आएको छ । हामीले शुरुमा सानो स्केलमा सेवा दिईरहेका थियौं । तर ग्राहकहरुले हाम्रो गहनाहरु मन पराउनुभएको छ । सहसंस्थापक अनिश मानन्धरले भने, हामीले अमेरिका, अष्ट्रेलियालगायतका देशहरुमा समेत नेपाली ग्राहकहरुलाई उत्पादन पठाईरहेका छौं ।

टिसा नेपालले हाल ग्राहकहरुको माग र रुचिको आधारमा आधुनिक गरगहनाहरु तयार गर्ने र बिक्री गर्दै आएको छ भने आफ्नै डिजाइनहरुमा समेत गहना तयार गरिरहेको छ । ग्राहकहरुलाई आधुनिक गहनाहरुको भेराइटी दिनका लागि कम्पनीले न्यूनतम ४५० रुपैयाँदेखि २० हजार रुपैयाँसम्मका गहनाहरु उपलब्ध गराउँदै आएको छ ।

महंगा सुनका गहना किन्न नसक्ने तर आधुनिक गहना मनपराउने युवा जमातलाई ध्यानमा राखेर टिसा नेपालले आफ्नो व्यवसाय संचालन गरिरहेको जनाएको छ । सामाजिक संजाल इन्स्टाग्रामबाट मात्र बिक्री गर्दै आएको टिसा नेपालले भविश्यमा आफ्नै अनलाइन प्लेटफर्म समेत बिस्तार गर्ने योजना लिएको छ ।

 

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update