Kath khabar
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा भैरहवामा ५ करोडको लगानीमा ग्रन्थ ईभीले विद्युतीय स्कुटर उत्पादन गर्ने

 

                               काठमाडौं, माघ ८ ।   ग्रन्थ इलेक्ट्रिक भेहिकलले राष्ट्रिय आविष्कार केन्द्रको सहयोगमा भैरहवामा विद्युतीय स्कुटर उत्पादन गर्ने भएको छ । केन्द्रको सहयोगमा उक्त स्कुटरमा नेपालमै निर्माण भएका पार्टपूर्जा प्रयोग गर्ने र नेपालमा नपाइने पार्टपुर्जा बाहिरबाट ल्याउने कम्पनीको भनाइ छ । 

अहिलेलाई नेपालमै बनेको कन्ट्रोलर, ब्याट्री बीएमएस, इन्डिकेटर, वाइरिङ राख्ने गरी आविष्कार केन्द्रबाट सहयोग लिने ग्रन्थ ईभीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजन ढुंगेलले  बताए ।

सुरुमा २ वटा स्कुटरमा नेपालमै बनेका सामान प्रयोग गरी छलफल भएको छ । साथै ग्रन्थ ईभीले बिक्री भएका प्रत्येक स्कुटरबाट ५ रूपैयाँ आविष्कार केन्द्रलाई दान गर्ने समेत जनाएको छ । 

करिब ५ करोडको लगानीमा ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले भैरहवामा विद्युतीय सवारीसाधन एसेम्बल उद्योग स्थापना गर्दैछ । 

१० हजार स्क्वायर फिट अनुमानित जग्गामा स्थापना हुने उद्योगको निर्माणको काम वैशाख-जेठमा सकिने छ । उक्त एसेम्बलबाट पहिलो चरणमा २ पाङ्ग्रे स्कुटर एसेम्बल गरिनेछ । त्यसपछि चारपाङ्ग्रे गाडी एसेम्बल गर्ने कम्पनीको योजना छ ।   

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update